काठमाडौं /२२ माघ-शुक्रबार विद्यालय सञ्चालनबारे प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरुसँग गरिएको छलफलमा शिक्षकहरुलाई ‘बुस्टर डोज’को व्यावस्था गर्न नेपाल शिक्षक महासंघले सुझाब दिएको छ । फागुन १ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नुपर्ने सुझाब दिँदै शिक्षक र कर्मचारीलाई बुस्टर डोजको व्यावस्था गर्न नेपाल शिक्षक महासंघले आग्रह गरेको हो ।
छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ लगायतका सरोकारवाला र पदाधिकारी सहभागी रहेकोे थियो ।
ग्रामीण क्षेत्रमा टाढा टाढाबाट खोप लगाउन आउनुपर्ने भएकाले १२ बर्षदेखि १८ वर्षसम्मका केही विद्यार्थीहरु अझै छुटेको जानकारी गराउँदै छिटो भन्दा छिटो ति विद्यार्थीहरुलाई खोपको व्यावस्था गरेर फागुन १ गतेदेखि विद्यालयहरु सञ्चालन गर्न नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताईन । साथै ५ वर्षदेखि ११ वर्षसम्मका विद्यार्थीहरुलाई तत्काल खोपको व्यावस्था गनुपर्ने सुझाब दिएको खबर एजुकेसनलाई बताइन ।
उनले विद्यालय लामो समयदेखि बन्द रहेका कारण बालबालिकामा असरपर्न सक्ने बताउदै सबै बालबालिकालाई खोपको व्यावस्था गरेर विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सहभागी सबै पक्षले सुझाब दिएको बताइन ।
त्यसैगरी विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी सुरक्षित भए मात्रै पठनपाठनमा सहज हुने भन्दै शिक्षकहरुलाई ‘बुस्टर डोज’को व्यावस्था गर्न छलफलमा आग्रह गरिको तुलाधरले जानकारी दिइन ।
कोरोना संक्रमण बढेपछि सरकारले पुस २७ गतेदेखि देशभरिका विद्यालय माघ मसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।



