पोखरा विश्वविद्यालयको परीक्षा सम्बन्धी सूचनाप्रति प्राध्यापक संघको ध्यानाकर्षण

कास्की/८ माघ-पोखरा विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयले माघ ७ र ८ गते प्रकाशित गरेको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आन्तरिक र सेमेस्टरका अन्तिम परीक्षा सम्बन्धी विरोधाभास पूर्ण सूचना जारी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।


परीक्षा नियन्त्रण कार्यालयको लेटरप्याड, छाप र परीक्षा नियन्त्रकको हस्ताक्षर सहित विश्वविद्यालयको आधिकारीक वेबसाइटमा अघिल्लो दिनमा सूचना प्रकाशित गर्ने र विद्यार्थी र विद्यार्थी संगठनको लगातार चर्को दबाब आएपछि सूचनाको दुरुपयोग भन्ने र विश्वविद्यालयले अर्को सूचना प्रकाशित गरिएको प्रति ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरीएको छ ।


महत्वपूर्ण दस्तावेजहरुलाई खेलौना जस्तो गरी लुकामारी खेल्ने बस्तु नबनाउन आग्रह गर्दे विश्वविद्यालयको अत्यान्त संवेदनशील अंग परीक्षामा बारम्बार यस्ता गम्भीर अपराधिक कार्यलाई टुलुटुलु मुकदर्शक भएर बस्न नसक्ने पोखरा विश्वविद्यालय प्राध्यापक संघले जनाएको छ ।


साथै परीक्षा समितिको कुन निर्णय अनुसार सो सूचना प्रकाशित भएको भन्ने अनौपचारीक जानकारी समेत प्राप्त हुन आएकोले सो सम्बन्धमा के भएको हो, दुई दिनभित्र सत्यतथ्य बाहिर ल्याई दोषिलाई कार्वाहीमा नल्याए विरोधमा उत्रिने संघले चेतावनी दिएको छ ।