एनओसी लगायत अन्य शाखामा शिक्षामन्त्री पौडेलको निरीक्षण

काठमाडौं /२५ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन् । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरेका हुन् ।


निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिएका थिए ।


‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘ तपाईहरुलाई दिने सेवामा कुनै समस्या छ कि छैन ? ’ मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामोसमय लाइनमा बसेर भएपनि काम सकेर जानी गरेको बताएका थिए ।


शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए । ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं,’ उपसचिव निरौलाले भने,‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं ।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाई छ ।


सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारी अभाव भएकाकारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ ।


नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिए । शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ ।