जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दाङ /१४ पुस-राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्र्तगत ९ वटा विद्यालयहरुको सहभागितामा सोमबर प्रतियोगिता सम्पन्न भएको हो ।


राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष भीमसेन गिरीको सभापतित्वमा भएको कार्यक्रममा घोराही उप–महानगरपालिका शिक्षा, युवा तथा खेलकुद माहाशाखा प्रमुख विनोद गौतमको प्रमुख अतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।


प्रमुख अतिथि गौतमले राप्ती इञ्जिनियरिङ कलेजले समाज रुपान्तरणको लागि लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताए । विजयी तथा सम्पुर्ण विद्यार्थीहरु र प्रतियोगितामा भाग लिने विद्यालयहरुलाई धन्यवाद दिदै यस्ता प्रतिभाहरुलाई पहिचान गर्ने कार्यक्रम पटकपटक गर्न सकेमा स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान दिन सकिने बताए । साथै कलेजले विद्यार्थीहरुलाई उद्यमशिलता, शिक्षा, खेलकुद लगायतका विषयहरुलाई सामाजिक रुपान्तरणसंग जोड्नु पर्ने उहाँको भनाई थियो ।


प्रतियोगितामा सिद्धार्थ एकेडेमी घोराही दाङका रोहन कर्ण, साधना पोख्रेल र सरद चौधरीको समुह प्रथम , श्री माध्यमिक विद्यालय रझेना दाङका मोहन घर्ति मगर, उमेश घर्ति मगर र कमल अर्यालको समुह दोस्रो र पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय घोराही दाङका अग्नी सुबेदी, स्वाभिमान पौडेल र आरजु बस्नेतको समुहले तृतीय स्थान हासिल गरेका थिए ।


सो अवसरमा प्रमुख अतिथि विनोद गौतमले प्रथम स्थान हासिल गर्ने सिदार्थ एकेडेमीलाई नगद रु १५,००० सहित प्रमाण पत्र, दोस्रो स्थान हासिल गर्ने श्री माध्यमिक विद्यालय रझेनालाई नगद रु १०,००० सहित प्रमाण पत्र र तेस्रो स्थान हासिल गर्ने पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयलाई नगद रु ५,००० सहित प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा सिद्धार्थ एकेडेमी घोराही, श्री माध्यमिक विद्यालय रझेना, पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय घोराही, दाङभ्याली माध्यमिक विद्यालय घोराही, माउन्ट भ्यू इङ्लिस बोडिङ् स्कुल घोराही, हिमाल एकेडेमी तुल्सीपुर, पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालय तुल्सिपुर, गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौर र रोजी बड्स बाल बाटिका माध्यमिक विद्यालय लमहीको सहभागिता रहेको थियो । प्रतियोगिताको सहजीकरण उप–प्राध्यापक दामोदर गिरीले गरेका थिए ।