परीक्षामा चिट चोर्न रोकेपछि सहायक क्याम्पस प्रमुखमाथि कुटपिट

काठमाडौं /६ पुस-काठमाडौंको आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटेका छन् । विद्यार्थी कुवेर जेठाराले परीक्षामा चिट चोरिरहेको भेटिएपछि गार्ड बसेका शिक्षकले उनलाई परीक्षा हलबाट बाहिर निकालेका थिए ।


परीक्षा सकिएपछि विद्यार्थी जेठाराले विवाद गरेको र परीक्षामा गार्ड बसेका सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन् । उनले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएर विवाद गरेका थिए ।


जेठाराल पानी पिउन प्रयोग गरिने स्टिलको जगले पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते पुडासैनीलाई मोडल अस्पताल लगिएको र उनको टाउकोमा सात वटा टाँका लगाइएको छ ।