जनशक्ति विकासमा शिक्षा मन्त्रालयको अग्रसरता

काठमाडौं /२ पुस-हाम्रा भावी सन्तति तथा देशविदेशमा स्थानान्तरण भएका आजका पुस्ता तथा भोलीको सन्तानले समेत आफ्ना पूर्खालाई श्राप नदिउन् भन्ने सोच हामीमाहुनु आजको माग भएको छ । यसर्थ हामी अग्रजहरु प्रतिभोलि हाम्रा सन्तानहरुले उच्च गर्व गरुन् भन्ने दूरदृष्टिको धारणा वर्तमान नेतृत्वदायी पुस्ताले अनिवार्य राख्न सक्नु पर्दछ । अन्यथा २१ औँ शताब्दीमा ५१ वर्ष अगाडि आएको रेल्वे सेवा ऐन २०२७ अनुसार २०७७ कार्तिकमा अरबौँ खर्चिएर विदेशबाट किनेर ल्याइएको रेललाई त्रिपाल ओढाएर राख्ने शर्मनाक घटना भविष्यमा पनि दोहोरिने छ । अरबौँ खर्चबाट तयार रेलवेको भौतिक पूर्वाधार तहस नहस गरी कवाडीमा परिणत हुने दर्दनाक अवस्थामा पुराउँदा पनि चिरनिद्रामा सुत्ने नेपाली नेतृत्व मानसिकताको जकडिएको असक्षम संस्कृतिलाई सक्षम, दक्षजनशक्ति विकास गरेर तोड्न अतिनै आवश्यक देखिन्छ ।

२०७७ कार्तिकमा अरबौँ खर्चिएर विदेशबाट किनेर ल्याइएको रेल


यसै पृष्ठभूमिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट लामो समय लगाएर तयार गरिएको मुलुकको जनशक्ति विकास कार्यविधि/ मापदण्डसहितको मुलुकको यथार्थ अवस्था झल्किने प्रतिवेदनको मस्यौदालाई मन्त्रालयले गहन विषय वस्तुको संगालोको सम्पत्तिका रुपमा जन्माएको छ । यस सम्पत्तिलाई अझ वैज्ञानिक रुपमा परिमार्जन गर्न तथा आमजनताका बीचमा नीतिगत संयन्त्र निर्माणपूर्व व्यापक बहसमा लैजान जरुरी ठानिएको छ । यसर्थ उक्त कार्यविधि तथा मापदण्डलाई बहसमा उतार्न स्थानीय तथा प्रदेश तहमा समेत पुराउन आवश्यक भएको छ । यसै प्रयोजनका लागि सबै तह र निकायका जनप्रतिनिधि तथा जिम्मेवार पदाधिकारी प्रतिनिधिहरुको सक्रिय सहभागिता हुने सात प्रदेश स्तरीय अन्तरक्रियात्मक गोष्ठीको सञ्चालन गर्ने धारणा पनि मन्त्रालयले अगाडि बढाएको छ । फलतःराष्द्रिय जनशक्ति विकास कार्यविधि/मापदण्डका रुपमा तयार मस्यौदा सामग्रीलाई देशका स्थानीय तह, प्रदेश तथा केन्द्रीय निकायहरुमा समेत कार्यादेश नामको मस्यौदा सबै निकायमा असौज महिनामा मेलबाट पठाएर बहसको प्रारम्भ गरिएको अवस्था छ ।


निकट भविष्यमा मन्त्रालय कार्यक्रमबाट तीनै तहका प्रतिनिधिहरुका माझमा छुट्टा छुट्टै गोष्ठी आयोजना गरेर कार्यविधि ÷ मापदण्डमा व्यापक सहभागिताबाट पूर्णता दिन लागिपरेको छ ।


संघीय कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका एवम् संवैधानिक आयोगहरुबीच जनशक्ति विकास तथा समन्वयका लागि नीति, योजना तर्जुमा तथा कार्यक्रम सञ्चालनका लागि स्थायी संयन्त्रको नीतिगत विकासका लागि कार्यविधि ÷ मापदण्ड सम्बन्धी व्यवस्था मिलाउन सहकार्य, समन्वयकारी भूमिकाप्रति सम्वेदनशील हुन अति जरुरी देखिएको छ । यसैले संघीय विषयगत मन्त्रालय तथा सम्बद्ध विज्ञ सरोकारवालाहरुसँग जनशक्ति विकास सम्बन्धी नीतिनिर्माण तथा कानून तर्जुमा र कार्यान्वयनका लागि चरणबद्ध गोष्ठी, कार्यशाला आयोजना गरेर तयार मस्यौदा कार्यविधि÷ मापदण्डमाथि प्राप्त रायसुझाव समावेश गर्दै वैज्ञानिक रुपमा सहमतिको दस्तावेजका रुपमा पूर्णतादिन मन्त्रालय दृढतापूर्वक प्रतिवद्ध छ ।


यसर्थ सर्वप्रथम विद्यमानशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको कार्यक्षेत्र तथा भूमिकालाई जनशक्ति विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रुपमा कार्यक्षेत्र तथा नाममा रुपान्तरण गर्न आवश्यक भएको छ । जनताका चाहना, राष्ट्रका आवश्यकता र श्रमशील क्षेत्र पहिचान गर्नका लागि थप अध्ययन, अनुसन्धान तथा रायसुझाव लिन, कार्यान्वयन गर्न गराउन समग्र मन्त्रालयको संगठनात्मक संरचनात्मक तथा कार्यभूमिका र शैलीमा व्यापक पुनरावलोकन आवश्यक देखिन्छ ।


तसर्थ मुलुकको जनशक्ति विकास, मानवपूँजी परिचालन र श्रमरोजगार क्षेत्रका कार्यस्थलगत भोगाइ, भावी सम्भावनाजन्य क्षेत्र पहिचान, देशलाई अगाडि बढाउन खोज्दा सामना गर्नपर्ने जोखिमका सम्भावना र सुरक्षाका वैकल्पिकपक्षहरु के के हुन् सक्छन् ? जस्ता विविध विषयगत क्षेत्रका मुद्दाहरुलाई समेटेर तत्सम्बद्ध सामाजिक संघ/संस्था/ विकास निर्माण जन्य संघ/ संस्था, पेसागत संघ/संस्था, सरोकारवाला पक्षका आधिकारिक निकायहरुसंग जनशक्तिविकास तथा मानवपूँजी लगानीका विषयमा गहनसंवाद, अन्तरक्रिया र रायसुझाव प्रस्तुतिका श्रृङ्खलाहरु सञ्चालन गर्न मन्त्रालय तयार भएको छ । जनशक्ति विकास नीति, योजना, कार्यक्रम निर्धारण गर्न पृष्ठपोषण लिने गरी सबै पक्षसंग सहकार्य गर्न नियमित रुपमागोष्ठी, अन्तरक्रिया सञ्चालन गर्न, गराउन मन्त्रालय तयार रहेको नेतृत्वका कार्यक्रियालापहरुले पुष्टि गर्दै गएका छन् । तल्लो तहको पदाधिकारीलाई काम अगाडि बढाउ, हामी साथमा छौँ र मन्त्रालयको कार्यविवरण अनुसार कार्य फत्ते गर्न प्रोत्साहन नेतृत्वले गरिरहेको छ ।

यसर्थ माथिका सबै पक्षको पृष्ठभूमिमा मुलुकको मानव संसाधन (जनशक्ति) विकास योजना सम्बन्धी विषयगत मन्त्रालयगत विशिष्ट धारणालाई सार संग्रह जनशक्ति प्रतिवेदनको अन्तिम तयारी गर्ने क्रममा मन्त्रालय लागि परेको छ । मानव संसाधन विकासका सन्दर्भमा यी मन्त्रालयहरु —वन, कृषि, पशु, भौतिकपूर्वाधार विकास, सहरी विकास, खानेपानी, उर्जा जलस्रोत तथा सिंचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा समाजकल्याण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा राष्द्रिय योजना आयोगका जिम्मेवार पदाधिकारीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई खुलेर सहयोग गर्न तयार हुनु र गराउन सक्नु पर्दछ ।


अन्तरक्रिया कार्यसम्पादनका विधि , प्रक्रिया र जिम्मेवारीमा खुला र पारदर्शिता हुनु आवश्यक हुन्छ । यही कारण सम्बन्धित विषय पक्षका पदाधिकारी निकायलाई स्पष्ट विषय तोकेर निर्धारित ढाँचामा उक्त विषय क्षेत्रमा आवश्यकहुने जनशक्तिको विवरण तयार पार्न निश्चित समय दिएर मन्त्रालय वा सम्बन्धित क्षेत्रमा नै विज्ञहरु समक्ष प्रस्तुति गर्न लगाउने र तत्सम्बद्ध विज्ञहरुका विचार धारणालाई प्राथमिकतामा राख्न सबै तयार हुनु पर्दछ ।

जुनसुकै विषयका प्रस्तोता र विज्ञ सहभागीहरुका विचार, धारणालाई राज्यको आवश्यकता र सामथ्र्यलाई मनन गरी सक्दो रुपमाआपसी सहमतिको पक्षमा पुराएर कार्य सम्पादन गरी जनशक्ति विकास सम्बन्धी कार्य विधि तथा मापदण्डलाई ठोस निचोडमा लैजान आवश्यक हुन्छ । मन्त्रालयको प्रयासमा तयार गरिएको राष्ट्रिय जनशक्ति विकास प्रतिवेदन २०७८ पूर्ण तयार गरी मुलुकको जनशक्ति विकासका लागि नीतितर्जुमा, कार्ययोजना निर्माण तथा संरचनागत संयन्त्र स्थापनाका क्रममा सर्वस्वीकार्य सहमतिमा कार्यान्वयन गर्न, गराउन सरोकारवाला निकायहरुसंग हरकिसिमको सहकार्य, समन्वय र निकटता कायम गर्न दक्षतापूर्वक लाग्ने जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको काँधमा आएको स्पष्ट छ । यसर्थ जनशक्ति विकास सम्बद्ध विषयमा शैक्षिक संस्थाहरु, तालीम प्रदायक निकायहरु, विषयगत मन्त्रालय, आयोग तथा निकायहरुको समन्वयमा प्राप्त हुनआएका वा देखिएका समस्या निराकरण गर्न, गराउन प्रतिवेदनका राय सुझावका आधारमा निरन्तर प्रयास गर्नु, गराउनु सबैको दायित्व हुने र यो विषयमा शिक्षा मन्त्रालय धेरै गम्भीर भएको अवस्था देखिन्छ ।

अध्ययन प्रतिवेदन तथा लक्षित कार्यक्रमबाट अपेक्षा गरिएका परिणामहरुले मुलुकमा सुशासन र समृद्धि ल्याउने आशा जागेको छ । तसर्थ नेपालमा जनशक्ति विकास, उत्पादन, रोजगार सिर्जना, जनशक्ति उत्पादन तथा प्रयोगका पक्षमा सामना गर्न पर्ने समस्या, कठिनाइ, प्राप्त सबलता वा सफलता, अबलम्बन गर्नुपर्ने नीति, रणनीति, योजना, कार्यक्रम सम्बन्धमा सामाजिक संघ, संस्था, विकास निर्माण कम्पनी, ठेक्केदार सम्बद्ध निकाय एवम् भूँइवर्गका ज्यामी, कामदार, श्रमिकवर्गका पेसागत संघ, संस्था लगायतका सरोकारवाला तथा नागरिक हक तथा जोखिमबाट सुरक्षा अभियानमा सक्रिय अभियन्ताहरुका विचारलाई लिपिवद्ध गर्न पाउँदा जनशक्ति विकासका पक्षमा हासिलहुने अपेक्षा धेरै हुन सक्छन् ।

जनशक्ति विकास तथा उपभोगका सन्दर्भमा विषयगत क्षेत्रमा भोगिएका समस्याहरु पहिचान गर्न र समाधान गर्न सकिने आधार खोजिनु पर्दछ । यसर्थ भूँइतहका वर्गदेखि नीतिनिर्माण तहसम्मका विचार, धारणा र रायसुझावलाई एउटै मञ्चमा व्यक्त गर्ने अवसर प्राप्तहुने र एकीकृत प्रतिवेदन तयार पार्न सकिने गरी कामको थालनी हुनु आवश्यक छ । कामदारदेखि नेतृत्वसम्मलाई आआफ्नो कार्यक्षेत्र, कार्यशैली र पेसागतक्षमताको समीक्षा गरी जनशक्ति परिचालन र नतिजा प्राप्तिमा अगाडि बढ्न सहयोग गर्ने बाटो मुलुकको जनशक्तिले नेतृत्व गर्न सक्दछ । मुलुकको समग्र जनशक्ति विकास नीति, योजना, कार्यक्रम तथा शैक्षिक योग्यता मूलक दक्ष, प्रतिभावान जनशक्तिको विकास रणनीति तयार पार्न आधार संरचना बनाउन सकिने हुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुलुकको जनशक्ति विकासको गतिमा बढेको पाइला, चासो र सक्रिय अग्रसरताका लागि नेतृत्ववर्गलाई धेरै धेरै धन्यवाद सहित देशमा रेल सेवामा देखिएको शर्मनाक पिडा कुनै पनि विकास आयोजनाले भोग्न नपरोस् तथा युवायुवतीले सीपहिन अवस्थामा देश वाविदेशमा भौँतारिन नपरोस् भन्ने निचोड निकाल्न इमानदार तथा कठोर मेहनत गर्न आवश्यक भएको देखिन्छ ।
(लेखक ईश्वरीप्रसाद पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।)