आन्तिरीक प्रतिस्पर्धाबाट शिक्षकलाई स्थायी नगर्न सात विद्यार्थी संगठनको प्रधानमन्त्रीलाई चेतावनी

काठमाडौं /२१ मंसिर-त्रिभुवन विश्वविद्यालयको गत १४ गते सिनेट बैठकबाट गरिएको निर्णयले प्राज्ञिक क्षेत्रप्रतिको विश्वस्नीयतामा गम्भिर प्रश्नहरु उठेको भन्दै सात विद्यार्थी संगठनले विरोध गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै हचुवाको भरमा स्थायी नगर्न समेत चेतावनी दिएका छन् ।


त्रिविको मनोमानीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियु सहित सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै हचुवाको भरमा स्थायी नगर्न चेतावनी दिएका हुन् ।


ज्ञापन पत्रमा हालै सिनेटले करारमा रहेका सम्पुर्ण शिक्षक र कर्मचारीलाई आन्तिरीक प्रतिस्पर्धाबाट स्थाई गर्ने निर्णयले विश्वविद्यालयमा योग्य र दक्ष शिक्षक , कर्मचारी आउने बाटो बन्द गर्दे विश्वविद्यालयमा करार हुँदै स्थाई हुने गलत नजिर बस्ने हुँदा यस्तो निर्णय तत्काल सच्याउन भनिएको छ ।


साथै विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा खुल्ला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नियुक्तिको वातावरण बनाउन माग गरेका छन् ।


यसैगरी चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाल लगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता गर्न,सात विद्यार्थी संगठनहरुले माग गरेका छन् ।


ज्ञापन पत्रमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र,वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियनका अध्यक्ष धनसुर शाही, राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्र र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेको हस्ताक्षर छ ।


यही मंसिर १४ गते वालुबाटारमा बसेको सिनेट बैठकले आंशिक शिक्षकलाई स्थायी गर्ने निर्णय गरेको थियो ।