कोभिडका कारण स्वदेश फर्केका विद्यार्थीलाई चीन फर्केर पढ्ने व्यावस्था गरिदिन आग्रह


काठमाडौं /२७ कार्तिक-परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोभिडका कारण स्वदेश फर्कन बाध्य चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा फर्केर पढ्ने व्यावस्था गरिदिन चीन सरकारसमक्ष अनुरोध गर्नुभएको छ ।


नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीमार्फत मन्त्री खड्काले चीन सरकारसमक्ष यस्तो आग्रह गर्नुभएको हो । कोभिड-१९ महामारीका कारण लामो समयदेखि नेपाल आएर बसेका विद्यार्थीको अध्ययन तथा अनुसन्धानम गहन असर परेको उल्लेख गर्दे मन्त्री खड्काले अहिले कोभिडविरुद्धको खोप समेत लगाइसकेको अवस्थामा चीन अध्ययन गर्न जान नेपाली विद्यार्थी तयार रहेको समेत स्पष्ट पार्नु भएको छ ।


तर चीनले फिर्ता लैजाने प्रक्रियाका लागि अनुमति नदिँदा विद्यार्थी अन्योलमा छन् । सोही अन्योलतालाई चिर्देँ मन्त्री खड्काले विद्यार्थीका लागि भ्रमण अनुमति दिनका लागि अनुरोध गर्नुभएको हो ।


साथै मन्त्री खड्कासँग शिष्टाचार भेटका लागि आउनुभएको चिनियाँ राजदूत याङ्छीसँग नेपाल-चीन सम्बद्ध अन्य विविध बहुपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।


चीनको वुहानमा सुरुवाती चरणको कोभिड महामारी फैलँदाकै बखत चीनका विभिन्न प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थीलाई जीवनरक्षाका खातिर नेपाल सरकारको पहलमा स्वदेश फर्काइएको थियो । गोरखापत्रमा समाचार छ ।