पापी पत्रकार

बाँके/५ असोज- “गरिवको घरमा चुलो बलेन“ शिर्षकको समाचार छापिएपछि एक हुल मानिसहरू जुर्मुराएर उठे । जताततै राहत बटुल्ने होडबाजि नै चल्यो । कसैले पैसा उठाएर दिए । कसैले कपडा जम्मा पारे । कसैले खाद्यान्नको जोहो गरिदिए । कसैले चुहिने खरको छानो फेरेर टिन हालिदिए । एउटा सानो आमाछोरीको परिवारले सन्तोषको सास फेर्याे ।


लोग्नेले छोडेर गएपछि रमिला एक्लि भएकी थिइन् । छोरी अपांग भएकोले लोग्नेले छाडेको, छोरीको उपचारका लागि पैसा जुटाउन गाह्रो भएको, अधिकांश समय छोरीको रेखदेखमा लाग्नुपर्ने हुनाले खर्च जोहो गर्न समय नमिलेको, समय मिलाएर काम गर्न जाँदा एक्लि देखेर गिद्दे नजर लगाउने गरेको गुनासो गरेकी थिइन् । एकछाक भातका लागि लडिरहेको रमिलाको परिवार देखेर म निकै भावुक भएको थिएँ । मैले निकै मिहिनेत गरेर समाचार बनाएको थिएँ । समाचारले राम्रो काम गर्याे । म पनि खुशी भएँ । पेशाको धर्म निभाउने क्रममा मानव धर्म पनि निभाएको थिएँ ।


काम बिशेषले निस्किएको थिएँ । रमिलाका आमाछोरीको याद आयो । भेट्न मन लाग्यो । धन्यवाद बाबु, तपाईंको कारणले हामी सुखी छौं । आनन्दले खाए लाएका छौं भन्लिन् उनले । अनि नाक फुलाउँदै खिसिक्क हाँसेर यो त मेरो कामै हो नि । सेवा गर्ने अवसर पनि मिल्यो भन्नुपर्ला भन्दै उनको घरतिर सोझिएँ । घरको ढोका बन्द थियोे । भित्रैबाट चुकुल लगाएको थियोे । बोलाएँ, ए रमिला दिदी । आवाज आएन । फेरि बोलाएँ । बल्लतल्ल सानी नानीले ढोका खोलिन् । मुसुक्क हाँस्दै सोधें खै त तिम्रो आमा ? उनले अनुहार अध्यारो बनाइन् । बाहिर जानू भएको हो ? होइन । भनेर टाउको हल्लाइन् । सानीको अनुहारमा एक्कासी क्रोध देखियो । “तपाई होइन हामीलाई सहयोग गर्ने ? हाम्रो समाचार बनाउने ?“ ठाडो प्रश्न तेर्साइन् ।


“हो म नै हो ।“ विस्तारै बोलें म । “किन गरेको सहयोग ? गरिव नै थियौं हामी । साथमा त थियौं आमाछोरी । मिठो नभए पनि पेट त भरेकै थियौँ । आमाले दुख गरेकै थिइन् । तपाईंले समाचार लेखेकै भरमा आमा पोइल गइन । पाप लाग्छ तपाईंलाई । म अब कसरी पालिने ?“


“मेरो समाचारले कसरी ?“ म अक्क न बक्क भएँ । “सहयोग दिन घरमा मान्छे आउने जाने गर्न थाले । राहत दिने निहुमा पटकपटक घर आइरहने एक पुरुषले आमालाई टिपेर लग्यो ।“ उ एकछिन बिसाइ र भुँइतिर हेरेर बोली ।


म हिडें । तलाई कुरेर बस्दिन । तेरो लागि म मेरो जवानी खेर फाल्दिन । म बरु तेरो बाउलाई खबर गरिदिन्छु भन्दै छाडेर गइन आमा पनि । तपाई पापी हो पापी ।“ म बोल्न नपाउँदै उसले ढोका ढप्काई । म हेरेको हेर्यै भएँ ।


लघुकथा पापी पत्रकारको लेखक सुमित्रा न्यौपाने श्री ज्ञान ज्योति माध्यामिक विद्यालय कोहलपुर बाँकेकी प्रधानाध्यापक हुन् ।