काठमाडौँ /३० भदौ- कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । कोभिड -१९ महामारीका कारण यस स्थगित गरिएको परीक्षा आजदेखि सुरु गरिएको हो ।
परीक्षार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ , भने असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुने छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिएपनि कोभिडका कारण अन्तिम समयमा आएर बोर्डले स्थगित गरेको थियो ।
विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोपको व्यावस्था गरेर मात्र परीक्षा सञ्चालन गरिएको छ । अघिल्लो वर्ष कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाइएको भए पनि यो वर्ष कोभिडको संक्रामण कम हुँदै गएका कारण बोर्डले विद्यार्थीका उत्तरपुस्तिका सङ्कलन गरी आफ्नै तरिकाबाट परीक्षण गर्ने तयारी गरेको छ ।
त्यसैगरी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी आगामी मङ्सिर अन्तिम या पुससम्ममा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
चार हजार ३१५ वटा परीक्षा केन्द्र रहेका छन भने तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।



