कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गते देखि हुने

काठमाडौं/१६ भदौ-राष्ट्रिय परीक्षा बार्डले स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डकोे बैठकले भदौ ३० गते देखि असोज ८ गते सम्म होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


बोर्डले विद्यालयमै परीक्षा केन्द्र कायम गरी विद्यार्थीको भौतिक उपस्थितिमा नेपाल सरकारले तोकेको स्वस्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन गरीने जनाएको छ ।


कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन गर्न संसदको शिक्षा तथा स्वस्थ्य समितिले निर्देशन दिएको थियो ।


कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाउने अवस्था गरीएको र सोही कारण परीक्षा सञ्चालन गर्ने तयारी गरीएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साथै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउन आग्रह गरेको छ ।


यस वर्ष कक्षा १२ को परीक्षा दुई पटक स्थगित भइसकेको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिएपनि अन्तिम समयमा आएर रोकिएको थियो । यस अघि बैशाख २६ गतेबाट सञ्चालन गर्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो ।


भदौ ३० गते देखि असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।