काठमाडौं /१६ भदौ -काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सञ्चालन नगर्नका लागि निर्देशन दिएको छ । नगरपालिकाले भदौ १५ गते देखि एकलौटि निर्णय गरेर नगर क्षेत्रभित्रका विद्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई टेलिफोन गरेर निर्देशन दिएको सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार टेलिफोन गरेर निर्देशन दिएको र अवस्था हेरेर निर्णय गर्ने नगरपालिकाले जवाफ दिएको जानकारी दिए । साथै अरु नगरपालिकाको हकमा के गर्ने भन्ने कुरा आज निर्णय गरिने उनले खबर एजुकेशनलाई बताए ।
दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको प्रशासनले जनाएको छ । डेल्टा भेरिएन्टसहितको मिश्रित संक्रमणदर भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको उनको भनाई छ ।
भदौ १५ गते मंगलबार देखि विद्यालय खोल्ने निर्णयसँगै केहि सामुदायिक विद्यालय खुलेका थिए । तर धेरै संस्थागत विद्यालयहरू भने खुलेनन् । केही विद्यालयहरूले भने स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ८ देखि १२ का विद्यार्थीलाई विद्यालयको पोशाकविना कक्षा सञ्चालन गरेका थिए ।



