बहालवाला शिक्षक र प्राध्यापकले माधव नेपालको पार्टी सदस्यता बन्न नपाउने

काठमाडौँ /१२ भदौ-नव गठित माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्याक्तिलाई मात्र सदस्यता दिने प्रावधान गरेको छ ।


नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाका बहालवाला सरकारी कर्मचारी, शिक्षक र प्राध्यापकले माधव नेपालको पार्टी सदस्यता नपाउने भएका हुन् ।


बुधबार निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) को सदस्य बन्ने १४ प्रावधान मध्ये एउटा प्रावधानमा उक्त कुरा उल्लेख गरिएको जनाइएको हो । नेकपा (एकीकृत समाजवादी) ले कस्ता कस्ता व्यक्तिहरू पार्टीको सदस्य बन्न सक्छन् भन्ने विधानमा उल्लेख गरेको छ ।


नेकपा (एकीकृत समाजवादी) को विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था गरिएको छ । विधानअनुसार बहालवाला सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकले सदस्यता लिन नै पाउने छैनन् ।


यस्ता छन् नेकपा (एकीकृत समाजवादी) को सदस्य बन्ने १४ प्रावधान :
१. १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक ।
२. भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको ।
३. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको ।
४. कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुन बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य नरहेको ।
५. नैतिकवान् र स्वच्छ चरित्र भएको ।
६. मानसिक सन्तुलन नगुमेको ।
७. नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेकोे । ८. प्रचलित कानुनले अयोग्य नभएको ।
९. पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको ।
१०. पार्टीको सिद्धान्त, कार्यक्रम र नीति आत्मसाथ गरी कार्यान्वयन गर्न तत्पर ।
११. पार्टीको विधान र नियमावली मान्न तत्पर ।
१२. पार्टीको कुनै जन सङ्गठन वा संयन्त्रमा सङ्गठित भई जिम्मेवारी पूरा गर्न तत्पर ।
१३. उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर ।
१४. समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउनका लागि क्रियाशील हुन तत्पर रहेको ।