काठमाडौं/११ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयले परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने प्रबन्ध मिलाई सकिएकोले खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले १८ वर्ष वा सो भन्दा बढी उमेरका समूहका सबै परीक्षार्थीले परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराईएको प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन आग्रह गरेका छन् ।
मन्त्रालयले खोप लगाउन आउने परीक्षार्थीहरुलाई खोप लगाउन कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवं सहजीकरण गर्न शैक्षिक संस्था तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।




