काठमाडौं/१० भदौ-सरकारले कोभिड–१९ सङ्क्रमणको रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ विषयको पढाइ शुल्क नलिन विश्वविद्यालयहरुलाई पत्राचार गरेको छ ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन पत्राचार गरेको हो ।
सो समितिले ‘इञ्जिनीयरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेका अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो ।
त्यसबारे निर्णय भई सम्बन्धित विश्वविद्यालयलाई निर्णय अनुसार कार्यन्वयन गर्न बोधार्थ दिइएको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए । साथै पत्रमा सोबारे निर्णय कार्यान्वयन गरी सोको प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन भनिएको छ ।
पत्र त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पठाइएको छ ।



