काठमाडौं/९ भदौ-नर्सिङ तथा पारामेडिक्स अध्यन गराउने कलेज सञ्चालकहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा मंगलबार चाबी बुझाएका छन् । तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड ल्याएको भन्दै चाबी बुझाएका हुन् ।
यस्तो मापदण्ड ल्याएर निजी कलेज बन्द गराउने योजनामा आयोग रहेको उनीहरुको भनाई छ । साथै एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्न विचार गर्नुपर्ने भन्दै दबाबाको लागि चाबी बुझाएको कलेज सञ्चालकहरुको भनाई छ । चिकित्सा शिक्षा आयोगले तोकेको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि नर्सिङ तथा पारामेडिक्स अध्यन गराउने कलेज सञ्चालकहरुले आयोगमा चाबी बुझाएका छन् ।
बीएससी नर्सिङ,बीएससी एमएलटी, बीपीएचलगायका विषयमा सिट संख्या भन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । आयोगले ५० प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीलाई उत्तीर्ण नगराए पछि उत्तीर्ण प्राप्ताङ्कको प्रतिशत घटाउनुपर्ने उत्तीर्ण प्राप्ताङ्क ३५ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् ।
आयोगले बीपीएचमा १४२० कोटा छुट्याएकोमा ५६५ जना, बिएससी नर्सिङ ११०० सय छुट्याइएकोमा ५०४ जना, बी फार्मेसीमा ९०२ वटा कोटामा ५४७ जना,फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटामा ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ कोटमा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । यसरी कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि कलेज खाली हुने अवस्था आएकाले आन्दोलन गर्नु पर्ने उनीहरुको भनाई छ ।



