काठमाडौं/८ भदौ-नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा प्रति असन्तुष्टि जनाएका छन् ।
तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरीएको र यस्तो मापदण्ड ल्याएर निजी कलेजहरू बन्द गराउने योजनामा आयोग रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सोमबार गरीएको पत्रकार सम्मेलनमा कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार नगरे आफूहरूले कलेजको चाबी आयोगलाई बुझाउने समेत चेतावनी दिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा सोमबार नै गएर सांकेतिक रूपमा कलेजहरूको साँचो बुझाउने बताए । “आयोगले कलेजको अनुगमन ग¥यो, सिट संख्या तोक्यो तर परीक्षा मापदण्ड नै अव्यहारिक बनायो र विद्यार्थी भर्ना नै नहुने अवस्थामा पु¥यायो । यसले हाम्रो कलेज पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको छ,“ उनले भने । उनले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याएमात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गरे ।
पोखरा विश्वविद्यालय अन्तरगर्तका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको संगठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताउछन् । “प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा पढ्न नदिनु भनेको उचित हुँदैन,“ उनी भन्छन्, “विद्यार्थीको इच्छाशक्ति भए पढ्न सुरु गरेपछि ४ वर्षको अवधिमा कम नम्बर ल्याउने विद्यार्थी पनि उत्कृष्ट बनेका धेरै उदाहरण छन् ।”



