विश्वविद्यालय स्तरका परीक्षामा सामेल हुने परीक्षार्थीलाई खोप उपलब्ध गराईने

काठमाडौं/२७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने परीक्षार्थीलाई खोप उपलब्ध गराउने भएको छ ।


मन्त्रालयले परीक्षाको प्रवेश पत्रका आधारमा खोप उपलब्ध गराउन सातै प्रदेशका स्वस्थ्य निर्देशनालय र सबै जिल्ला स्वस्थ्य कार्यालयलाई निर्देशन दिएको हो ।


परीक्षार्थीलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी एष्ट्राजेनेका र भेरोसेल खोपको पहिलो मात्राको व्यावस्था मिलाउन निर्देशन दिएको स्वस्थ्य सेवा विभागका निर्देशक डा.तारानाथ पोख्रेलले जानकारी दिनु भयो ।


साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौका लागि चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने व्यवस्था मिलाईएको जनाएकोे छ । राजधानीभित्र राधास्वामी केन्द्र बसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिइने भएको छ ।