काठमाडौं /२२ साउन साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने कक्षा १२ को लगायत सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहिबार बेलुका ट्वीटरमा लेख्नु भएको छ “कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।”
त्यसैगरी सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को तत्काल परीक्षा गर्न गाह्रो हुने र नयाँ मितिको तय गर्न आग्रह गर्दे पत्राचार गरेको वोर्ड स्रोतले जनाएको छ । तर यो विषयमा कुनै निर्णय नभएको र शनिबार वा आइतबार कुनै निर्णय आउन सक्ने स्रोतको भनाई छ ।
कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन गर्ने तयारी रहेको छ भने ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।



