नेपाल भाषा पढाउन १७२ शिक्षकसँग सेवा करार सम्झौता

काठमाण्डौँ/९ वैशाख– काठमाण्डौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ ।
नेपाल भाषा अध्यापनका लागि जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।
सम्झौता गरिएका सबै शिक्षकलाई स्थानीय भाषा पठनपाठन गराउन आफू मातहत रहेका सामुदायिक विद्यालयमा खटाइने भएको छ ।
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरिएको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षकको पनि सोहीअनुरुप व्यवस्था हुने भएको छ ।


महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक महानगरले आफ्नै स्रोतसाधनबाट राखेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक वर्ष समयावधि थप गर्ने व्यवस्था रहनेछ ।
यसै शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक तर विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीनसम्म शिक्षक राख्ने महानगरपालिकाले जनाएको छ ।

नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकारले बताए ।
पछिल्लो समय काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।
कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्य रूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम रहेको र पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संस्कृतिका बारेमा जानकारी लिन नयाँपुस्तालाई ठूलो टेवा पुग्ने प्राध्यापक कंशाकारले बताए ।
स्थानीय पाठ्यपुस्तक तयार कामपाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक र अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ ।