काठमाण्डौं/६ वैशाख– कोरोना संक्रमणको क्रम तीव्र रुपमा बढेपछि स्थानीय तहका सम्पूर्ण विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।
पछिल्लो समय बालबालिकाहरुमा समेत कोरोना पुष्टि हुन थालेकाले नेपालका अधिकांश क्षेत्रका विद्यालय बन्द हुन थालेका हुन् ।
यसैक्रममा, कोरोना जोखिम बढ्दै गएको भन्दै वीरगन्ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायीक विद्यालय अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गरेको छ ।
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी फैलिरहेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिएका छन् । उनले वीरगन्जका विद्यालयहरुलाई कक्षा १ देखि ५ सम्मका विधार्थीहरुको आन्तरिक मुल्यांकन कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको बताए ।
खासगरी बालबालिकाहरुको स्वास्थ्य जोखिम रहेकोले यहाँका स्थानिय बासिन्दा तथा बुद्धिजिवीहरुको सहमतीमा नै विद्यालय बन्द गरेको उनले जानकारी दिए ।
त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढ्दै गइरहेकोले वैशाख मसान्तसम्म वैकल्पिक सिकाइ प्रणालीलाई अपनाउँदै विद्यालय बन्द गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार कक्षा ८ र १० को पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वैशाख १५ सम्म सम्पन्न गर्नुपर्ने जनाएको छ ।
यदि संक्रमणको दर फैलँदै गएमा आधारभूत तहको अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षाहरु विद्यार्थीलाई दिइएको परियोजना कार्यको मूल्यांङ्कन र यसअघि लिएको परीक्षाहरुको औसत अंक अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्यांङ्कन गर्ने गरी तयारी गर्न नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै, कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आईतबारदेखी कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक हफ्ता सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
अनलाईन मार्फत् विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाले सम्पूर्ण सामुदायिक, संस्थागत तथा परम्परागत विद्यालयहरुमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
यसैगरी, ईनरुवा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय आजदेखि बन्द गरेको छ ।
सो नगरपालिकाले कोरोना जाखिम उच्च रुपमा बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको निर्णयमा सहमती जनाउँदै सभा, सम्मेलन र भेला जस्ता कार्यक्रम समेत सञ्चालन नगर्ने निर्णय गरेको छ ।
यसका साथै, कैलालीमा समेत कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै त्यसको रोकथामका लागि दश दिन सम्मका लागि विद्यालय बन्द गर्ने तयारी रहेको छ ।
कैलालीमा १० दिन विद्यालय बन्द गर्नका लागि स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले परिपत्र समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
पछिल्लो केही महिना यता कोराना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै सीसीएमसीले शिक्षा मन्त्रालयलाई शैक्षिक क्षेत्र तथा विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोना फैलिन सक्ने खतरा बढेको र कोरोना हटस्पटमा विद्यालय बन्द गर्नुपर्ने सुझाव शिक्षा मन्त्रालयलाई दिएका थिए । सोही अनुरुप अहिले विभिन्न स्थानीय तहहरुमा विद्यालय बन्द हुने क्रम बढ्दै गएको हो ।



