२०७७ वर्षभरीको शैक्षिक क्षेत्रको गतिविधि र कोरोनाले पारेको प्रभाव

काठमाडौं /१ बैशाख – गत वर्ष कोरोना महामारीका कारण लगभग संसारभर लकडाउन भयो । कोभिड–१९ को रोकथाम गर्नका लागि भन्दै संसारभर नै विद्यालय लगायत् अन्य सबै क्षेत्र प्राय ठप्प नै भएको थियो ।

अधिकांश देशले कोरोना संक्रमण रोकथामका लागि विद्यालय बन्द गरिएका कारण एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुन पुगे । यसले बालबालिकाको शिक्षाका साथै समग्र सबै क्षेत्रमा नै जोखिम पैदा गरिदियो । विशेषगरि यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा ठुलो असर पा¥यो ।

नेपालको सन्दर्भमा कोरोना महामारीका कारण गत २०७६ चैत १० गतेदेखी देशभर सम्पूर्ण विद्यालय बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भयो । लामो समय विद्यालय बन्द भएका कारण बालबालिकाको सुरक्षा र सिकाईमा यसले ठूलो नकारात्मक प्रभाव पा¥यो ।

सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको कोरोना भाइरसले गर्दा देशका विद्यालयदेखि विभिन्न कलेज र विश्वविद्यालयसम्मका सम्पूर्ण शिक्षण संस्था बन्द गर्नुपर्दा शिक्षा क्षेत्रलाई व्यापक रूपमा प्रभाव पा¥या ।

महामारीका कारण नयाँ शैक्षिक सत्रमा पनि विद्यालय नखुल्दा विद्यार्थीले घरमै बसेर पढ्न बाध्य भए । कोरानाका कारण विभिन्न स्कूल, कलेज तथा विश्वविद्यालय सञ्चालनमा नआउँदा अध्ययन अध्यापनका साथै परीक्षा समेत निश्चित समयमा हुन सकेनन, यसरी पूर्ण रुपमा पढाई र परीक्षा सञ्चालन हुन नपाउँदा शिक्षा क्षेत्रको स्थिति अहिले सम्म पनि सामान्य बन्न सकेको छैन ।

वर्तमान समयमा यसबाट शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । कोरोनाका कारण अहिलेसम्म पनि विद्यालयको पठनपाठनमा अनियमितता छ । नेपाल जस्तो गरिब तथा विकासोन्मुख मुलुकमा कोरोना भाइरसले यसरी असहज अवस्था सिर्जना गरिदिएका कारण शिक्षा क्षेत्रमा नेपालले गरेका विभिन्न सम्झौता तथा योजनामा बाधा पुगेको छ ।

विभिन्न शहरी क्षेत्रका विद्यार्थीहरुले लकडाउनका अवधीमा ई सिकाई, अनलाईन, डिस्टान्स लर्निङ तथा भर्चुअल क्लासरुम जस्ता विविध प्रविधि अपनाएर अध्ययनलाई निरन्तरता दिए पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी भने पढाइको अवसरबाट वञ्चत भए ।

लकडाउनका कारण परिवारिक आम्दानीमा प्रभाव पारेको कारण केहि बालबालिकाहरू पढाइको अवसरबाट वञ्चित हुनुपरेको विभिन्न सर्वेक्षणले देखाएको छ ।

चैत ६ गतेदेखि सञ्चालन हुने भनिएको एस.इ.इ. परीक्षाको अघिल्लो दिन कोरोनाको कारण भन्दै सरकारद्वारा एस.इ.इ.परीक्षा स्थगित गर्दा लाखौं विद्यार्थीले मानसिक तनाव झेल्नुप¥यो । यसले उनीहरु र अभिभावकहरूमा समेत मनोवैज्ञानिक रूपमा ठूलो भय र त्रास पैदा गरिदियो ।

एस.इ.इ.दिन तम्तयार लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिदिनाले त्यो समय विद्यार्थीहरूमा परीक्षा हुने हो कि होइन ? भन्ने अन्यौलता र तनाव सिर्जना भयो । जसका कारण जुन गतिमा विद्यार्थीको तयारी रहनुपर्ने थियो त्यस गतिमा उनीहरूले तयारी गर्न पाएनन् । लगत्तै कोरोनाको त्रास देखाउँदै नेपाल सरकारले एसईई परीक्षाको परीक्षा नलिकनै स्कूलको आन्तरिक मूल्याङ्कनबाट सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराईयो । जुन नेपालको ईतिहासमैं पहिलो पटक एसईई परीक्षा (जसलाई फलामको ढोका पनि भनिन्छ) रद्द भयो र परीक्षा विना नै सम्पूर्ण परीक्षार्थीहरु पास हुन सफल भए ।

यसरी राम्रा, कमजोर सबै विद्यार्थीलाई विद्यालयले असीमीत रुपमा मुल्याङ्कन गरी अंक प्रदान गरेर उच्च श्रेणीमा पास गराउँदा असल तथा जेहेन्दार विद्यार्थीमा नराम्रो असर परेको र उनीहरुको मनोबल गिरेको भन्दै विद्यालयले मनोमानी गरेको भन्दै विभिन्न विवाद पनि सिर्जना भयो ।

त्यस्तै, नेपालमा वर्षेनी चैत्र अन्तिम हप्तामा विद्यालयहरूबाट विद्यार्थीहरूको नतिजा प्रकाशित हुन्थ्यो । तर, सरकारले ०७७ बैशाख ३ गतेसम्म लकडाउनको समयलाई थप गरेपश्चात् देशका सम्पूर्ण विद्यालयहरूमा नतिजा तयारी र प्रकाशित गर्ने कार्य समेत प्रभावित बन्यो । जसले गर्दा नतिजाको प्रतीक्षामा रहेका विद्यालय तहका लाखौं बालबालिकाको रिजल्ट नआउँदा उनीहरूको मनोविज्ञानमा ठूलो असर प¥यो ।
यसैगरी, हरेक वर्ष बैशाख २ गते देखि हुने विद्यार्थी भर्ना अभियान पनि लकडाउनकै कारण २०७७ सालमा सोही समयमा हुन सकेन । यसले निरन्तर विद्यालय जाने बालबालिकालाई लामो समयसम्म विद्यालय बन्द हुँदा छुट्टै किसिमको छट्पटी र तनाव उत्पन्न गरिदियो ।

त्यस्तै, कक्षा ११ र १२ मा अध्ययनरत देशभरका विद्यार्थीहरूको बैशाख दोस्रो र तेस्रो हप्तादेखि सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित भई पछि सार्दा परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुले आफूले सोचे अनुरुप परीक्षा दिन नसकेको समेत चिन्ता जनाएका थिए ।

एकनास रुपमा पढेर अगाडि बढिरहेका विद्यार्थीहरूको पठनपाठन र परीक्षाको अन्यौलताले शैक्षिक क्षेत्र र उपलब्धिमा त असर पारेको छ नै त्यससँगसँगै कोरोनाको भय र त्रासले उनीहरूको मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पारेको देखिन्छ ।

महामारी कारण विद्यालय तहका मात्रै नभई विभिन्न विश्वविद्यालयहरूका पनि पठनपाठन र तोकिएका विभिन्न परीक्षा स्थगित भए । विश्वविद्यालयको जटिल विषय जुन सेमेष्टर प्रणालीमा सञ्चालन हुन्छ, ती विषयहरुको समेत पूर्ण रुपले कक्षा सञ्चालन हुन नपाउँदा घरमै बसेर अध्ययन गरी विद्यार्थीले अनलाईन मार्फत् नै परीक्षा दिनुपर्ने बाध्यात्मक परिस्थिति व्यहोर्नुप¥यो ।

त्यस्तै, लोक सेवा आयोग र शिक्षा सेवा आयोगका परीक्षा तथा सिफारिस कार्यक्रम पनि स्थगित हुँदा विश्वविद्यालय र आयोगका पढाइ तथा परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूमा एक छुट्टै चिन्ता र मानसिक तनाव पैदा भयो । अहिले सम्म पनि विश्वविद्यालय तथा आयोगका पठनपाठन र परीक्षा कार्यक्रमको नियमित समय तालिका व्यवस्थित बन्न सकिरहेको छैन । यसले शिक्षा क्षेत्रमा पछिसम्म नै असर पर्ने सम्भावना देखिन्छ ।

नेपाल मात्रै नभई विश्वका शक्तिशाली राष्ट्र पनि आज कोरोना भाइरसको कारण लथालिङ्ग अवस्थामा पुगेका छन् । यसले स्वास्थ्य, शिक्षालगायत, यातायात, उद्योग, कलकारखाना आदि जस्ता विविध क्षेत्रमा प्रतिकुलता सिर्जना पैदा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको महामारी कम्तीमा दुई वर्ष रहला भनेको छ । यसरी कोरोना भाइरस अर्थात् कोभिड १९ का विरुद्ध सारा विश्व नै लडिरहेको समयमा हामी नेपालीहरू पनि एकजुट भएर यसको सामना गर्नुको अरू विकल्प छैन । आम जनताले पनि मनोबललाई उच्च राख्दै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरूबाट जारी भएका उपायहरू अपनाउन जरुरी छ ।

यस्तो जटिल र संवेदनशील समयमा विद्यालय, शिक्षक र अभिभावक सबै मिलेर विद्यार्थीहरूलाई उत्साह र हौसला दिंदै कोरोना भाइरसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई हटाएर अगाडि बढ्न सघाउ पु¥याउन मद्दत गर्न सक्नुपर्छ ।

हरेक विद्यार्थीको शिक्षाको अधिकार सुरक्षित र सम्वर्धन गर्नु आजको आवश्यकता हो । तसर्थ, अबको समयमा विद्यालयलाई पहिलेकै रुपमा नियमित सञ्चालन गर्न सरकारले विभिन्न पहल गर्न आवश्यक छ । विद्यालयमै बालबालिकालाई सिकाई, हेरचाह लगायत स्वास्थ्य, पोषण, मनोवैज्ञानिक सहयोग, स्वच्छ खानेपानी तथा सरसफाईका क्षेत्रमा पहिलेभन्दा राम्रो व्यवस्था मिलाउनु पर्दछ ।

निकै लामो समय विद्यालय बन्दका कारण कैयौं विद्यार्थीहरू आफ्नो सिकाईमा पछाडी परिरहेको अवस्थामा अहिले विश्वव्यापी शिक्षा गठबन्धनको सदस्यका रूपमा युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले सरकारहरूलाई बालबालिका विद्यालय जानु र संक्रमण बढ्नु बीचको सम्बन्ध अप्रमाणित रहेको तथ्यलाई ध्यानमा राख्दै दुर–शिक्षाको तुलनामा कक्षाकोठामा आधारित शिक्षाका फाईदाहरू र विद्यालय खुलेपछिका जोखिमहरू दुवै पक्षको समिक्षा गरेर निर्णय लिन संयुक्त आव्हान गरे अनुरुप सतर्क रही सरकारले शिक्षा क्षेत्रलाई अगाडी बढाउनुपर्ने जरुरी देखिन्छ ।

देशको भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई नियमित सञ्चालन गर्न र विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापहरुमा व्यस्त बनाइराख्न शिक्षा मन्त्रालयबाट विशेष पहल हुनुपर्ने जरुरी देखिन्छ । स्वास्थ्य प्रति उच्च साबधानी अपनाउँदै शिक्षा प्रतिको आधारभूत दायित्व पूरा गर्न सरकारका तीन वटै तह, शिक्षा मन्त्रालय र यससँग सम्बद्ध देशै भरका निकाय र सरोकारवाला पक्षहरु लाग्नुपर्ने देखिन्छ ।