स्वास्थ्य मन्त्रालयले भन्यो: विद्यालयमा उच्च सतर्कता अपनाउनु


काठमाडौं /२५ चैत – स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड–१९ सम्बन्धी नियमित अपडेटमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दे हाल राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाबाट भैरहेको निगरानिमा काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख्य छ । सरकारले कोरोनाको दोस्रो लहरले जोखिम निम्त्याउन लागेको भन्दै बढी भीड हुने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

बढी भिड रहेका क्षेत्रहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ । विद्यालय, मन्दिर र बढी भीड हुने अन्य क्षेत्रमा अहिलेबाटै सामाजिक दूरी कायम गर्न भनिएको छ । विद्यालयमा सामाजिक दूरी र जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । महामारी फैलिन नदिन अहिलेबाटै सतर्कता अपनाऊँ । यदि महामारीको अवस्था आयो भने सरकारले फेरि विद्यालय बन्द गर्न सक्छ प्रेस ब्रिफिङका क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले यस्तो बताएका हुन् ।

हालको बढ्दो जनस्वास्थ्यका मापदण्डको उलंघन र संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दे सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो ।