काठमाण्डौं/२४ चैत– नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरुलाई निष्कासित गरेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियू) का सो तीन विद्यार्थी नेतालाई साधारण सदस्यता समेत नरहने गरी संगठनले मंगलबार निष्कासन गरेको हो ।
अनेरास्वयुविका अध्यक्ष ऐन महरका अनुसार संगठनको विधि विधान तथा नीति निर्देशनको विरुद्धमा गएर निरन्तर गतिविधि गरेको र पटक पटक चेतावनी दिंदासमेत समानान्तर कमिटी गठन गर्नेजस्ता गलत कार्य गरेकाले संगठनको सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको बताएको छ । निष्कासनमा परेका विद्यार्थी नेतामा सुदेश पराजुली, आरती लामा र वसिम आलम छन् ।
उनीहरुलाई कारवाही गरिएको भए पनि आफ्नो गल्ती महसुस गरी सच्चिएर आएमा कारवाही अवधि कम समेत गर्नसक्ने अध्यक्ष महरले बताए ।
यसअघि वरिष्ठ नेता नेपाल, नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल पनि छ महिनाका लागि निलम्बनमा परिसकेका छन् । नेताहरु कारवाहीमा परे पनि सामान्तर कमिटी गठन गर्ने र सामूहिक भेला गर्ने गराउने काम भने रोकिएको छैन ।
कारबाही गरिएका तीनै जना नेता माधवकुमार नेपाल पक्षका हुन् । नेपाल पक्षले चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए त्यस पछि उनिहरुलाई तीन दिनभित्र स्पष्टिकरण दिन लिखित निर्देशन दिन निर्देशन दिएपनि जवाफ नदिए पछि कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




