काठमाण्डौं/२३ चैत- पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीलाई कोरोना संक्रमण भएको पुष्टि हुँदा पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौंको हाँडीगाउँस्थित बायोमेडिकल इन्जिनियरिङ कलेजका पाँच जना परीक्षार्थीलाई संक्रमण पुष्टि हुँदा पनि विश्वविद्यालयले परीक्षा नरोकेको हो ।
सो कलेजका ४० जना विद्यार्थी संक्रमितको सम्पर्कमा छन् । उनीहरुमध्ये कतिको पीसीआर परिक्षण पनि नगरिएको भन्दै विद्यार्थीले परीक्षा सार्न सुझाव दिएको तर विश्वविद्यालयले नमानेको भनाई राखेका छन् । विद्यार्थीका अनुसार कलेजले विश्वविद्यालयलाई जानकारी गराउँदा विश्वविद्यालयले स्वास्थ्य मापदण्ड र आवश्यक सावधानी अपनाएर परीक्षा लिन भनेको छ ।
भोलिदेखि सुरु गरीने परीक्षा केही दिनका लागि पछाडि सारौँ भन्ने माग राखेता पनि विश्वविद्यालयले परीक्षा रोक्न नसकिने भन्दै परीक्षा सञ्ञालन गर्ने जनाएको भन्दै परीक्षार्थीहरुले गुनासो पोखेका छन् ।
कलेजका निर्देशक सूर्य अधिकारीले भने, ‘संक्रमित र सम्पर्कमा रहेकालाई छुट्टै राखेर परीक्षा लिने बताएका छन् । विश्वविद्यालयले विद्यार्थी संक्रमित भएमा परीक्षा दिनु नपर्ने र यसका लागि पछि विश्वविद्यालयले छुट्टै निर्णय लिने बताएको छ ।’
परीक्षा नियन्त्रक सूर्यप्रासाद संग्रौलाका अनुसार कोरोना पुष्टि भएका विद्यार्थी परीक्षामा अरुसँग बस्न नसकिने हुँदा संक्रमित विद्यार्थीको हकमा विश्वविद्यालयले भोलिको दिनमा निर्णय लिन्छ । संक्रमित नभएकाको भने परीक्षा हुन्छ । संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा केन्द्राध्यक्षले छुट्टै राखेर समेत परीक्षा दिन सकिने परीक्षा नियन्त्रक संग्रौला बताए ।
विद्यार्थीहरूले भने कन्ट्याक्ट ट्रेसिङमा परेका विद्यार्थीको रिपोर्ट नआएसम्म परीक्षा रोक्न माग गरेका छन् ।


