बझाङ/२३ चैत- दुर्गाथली गाउँपालिकास्थित एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् ।
चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि राम्रोसँग पढाइ नभएको भन्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
आइएससीएजीका विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।
विद्यार्थीको आग्रहलाई पटकपटक शिक्षकले अटेर गरेपछि सोमबार विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यार्थीले तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको जानकारी दिए । उनका अनुसार विद्यार्थीले जानकारी बिना नै तालाबन्दी गरेको र सहमतिमा आउन कुरा गर्न खोज्दा बीचमा चार/पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको धारणा व्यक्त गरे ।
हाल आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।



