पर्वत/२२ चैत- पर्वत जिल्लामा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण भएको छ ।
भूकम्प गएको पाँच वर्षको अवधीमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईले ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जनाएको छ ।
सो जिल्लामा २०७२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणलगायत ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानीको योजना सूचीमा परेका थिए ।
पहिलो चरणमा विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिएका छन् ।कोभिडका कारण गत वर्ष काममा समस्या उत्पन्न भए पनि अहिले परिस्थिति सामान्य भएपछि विद्यालय पुनःनिर्माणको तीव्र भएको कार्यालय प्रमुख शर्माले बताए ।
उनका अनुसार आगामी पुस सम्ममा सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने भएकाले पुनःनिर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र सकेसम्म पुससम्म सबै काम सक्याउने बताएका छन् ।
विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुनःनिर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।
जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्झौता भएको थियो ।



