चितवन/२० चैत- माडीको दिवाकर स्मृति विद्यालयले सिकाईसंगै उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयले वागमती प्रदेश सरकार ल्याएको सामाजिक विकास मन्त्रालयबाट ‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’ अन्तर्गत ६ लाख रुपैंया र माडी नगरपालिकाबाट ‘विद्यालयमा सिकाईसंगै उत्पादन कार्यक्रम’ अन्तर्गत ७ लाख रुपैंया अनुदान प्राप्त गरी तरकारी खेती गरेको हो ।
सो कार्यक्रम अन्तर्गत लगाएको तरकारी खेतीमा त्यस क्षेत्रका स्थानीय बासिन्दा र विद्यालय परिवारले श्रम सहयोग समेत गरेका छन् ।
स्कूलले गरेको तरकारी खेतीमा विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र स्थानीयबासीहरुले सिंचाई, गोडमेल तथा अन्य काम गरी उत्पादन कार्यक्रमलाई थप प्रोत्साहन गर्दै श्रम शिविरमार्फत् सहयोग गरेका हुन् ।
सो स्थानमा विद्यालयले लिजमा लिएका डेढ बिगाहा जमीनमध्ये करीब १ बिगाहामा तरकारी, लहरेबाली र मकैखेती लगाइएको छ ।
आगामी दिनहरुमा यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन तरकारीसंगै च्याउ र सयपत्री फुलखेती र धानखेती समेत गरिने विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेले जानकारी दिए ।



