काठमाण्डौ/११ चैत– दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा मृत फेला परेका दुईजना विद्यार्थीको थप अनुसन्धानका लागि भिसेरा परीक्षण गरिने भएको छ ।
पोष्टमार्टममा क्रममा नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्काले विष खाएको भेटिएको छ भने काभ्रेका १८ वर्षीय मंगल तामाङले चाहिँ विष खाए–नखाएको भन्ने प्रमाण अहिले नखुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
चिकित्सकले शव परीक्षणको लिखित रिपोर्ट प्रहरीलाई दिइसकेका छैनन् । पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम भने सकिएको छ । घटनास्थलमा सेल्फोस नामक किटनाशक औषधीको बट्टा फेला परेकाले अर्जुन र मंगलको विषको मात्रा पत्ता लगाउन र अंगका सबै पार्टपूर्जाको थप जाँच गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गरिने भएको छ ।



