धेरै विद्यार्थी बिरामीले थला परेपछि तीन दिनका लागि विद्यालय बन्द

काठमाण्डौं/११ चैत– नारायण नगरपालिका– ५ स्थित नवदुर्गा निमावि धिताहमा असंख्य रुपमा विद्यार्थी बिरामीले थला परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी एकपछि अर्को गर्दै एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द गरेको हो ।
विद्यार्थीमा ज्वरो आउने, रिँगटा लाग्ने र काँप्ने लगायतको लक्षण देखापरेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।
उनले भने, “आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।”
विद्यार्थी बिरामीले ग्रसित भएको खबर जिल्ला अस्पताल दैलेखमा पुगेपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।
उनका अनुसार विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्न केही समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिएका छन् । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न भन्दै उपचारमा खटिनुभएका डा गुरुङले विद्यार्थीलाई सुझाव दिएका छन् ।
यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको बताउँदै डा. गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।
सो क्षेत्रमा विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको छ ।