दाङ /१० चैत– दाङस्थित तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको स्कूल बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरीका कक्षा ११ र १२ का विद्यार्थी बोकेको रा १ क ४३३ नम्बरको स्कूल बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सो बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।



