काठमाण्डौं/१० चैत– दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका प्राथमिक तहमा अध्यापनरत शिक्षकलाई लक्षित गर्दै ल्याएको अवकास योजनामा शिक्षकले चासो देखाएका छैनन् ।
सेवा अवधि पूरा भई पेन्सनका लागि योग्य भएका शिक्षकलाई लक्षित गर्दै ल्याईएको अवकास योजनामा शिक्षकले अरुचि देखाएका हुन् ।
पालिका भित्रका ५१ शिक्षक दरबन्दी पुर्नवितरणमा परेका संख्यामध्य ११/१२ जना सम्मको थोरै भन्दा थोरै शिक्षक परुन् भनेर यो योजना ल्याईएको हो । तर, त्यस क्षेत्रभित्र रहेका जम्मा १ जना शिक्षकले मात्रै अवकासमा रुचि देखाएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
पेन्सनको अवधि पुगेका शिक्षकहरुलाई विदाई गरी त्यस ठाउँमा नयाँ शिक्षक ल्याएर समयानुकुल पठनपाठन अघि बढाउने लक्ष्यसहित देशका अन्य पालिकाहरुले पनि यस्ता योजना ल्याएका छन् ।
शिक्षा मन्त्रालयबाट पुर्नवितरित शिक्षक दरबन्दी मिलान अनुसार पालिकाको प्राथमिक तहका लागि स्वीकृत दरबन्दी भित्र रहेका शिक्षकलाई समेट्ने यो योजनाको लक्ष्य थियो । योजनामा सहभागी हुन चाहने शिक्षकलाई गत शुक्रबार सम्म आवेदन हाल्ने गरी म्याद तोकिएको पनि थियो ।
तर, लक्ष्य अनुसार शिक्षकको रुची नदेखिएको पालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिएका छन् । उनले भने, “अरु जिल्लाहरुमा जस्तो शिक्षकहरुका लागि आकर्षण स्रोत तथा साधन उपलब्ध गर्न नसकेका कारणले गर्दा पनि शिक्षकहरुले अवकास लिनमा चासो नदेखाएको पाईयो । त्यस्तै, २०४८ सालको आयोगबाट आएका शिक्षकहरु मध्ये अधिकांश घरपायक नै रहेकाले उमेर हुञ्जेल किन जागिर छाड्ने भन्ने मानसिकताका कारण र २०५० साल पछिका शिक्षकहरु फरक जिल्लाहरुमा रहेका कारणले गर्दा पनि आवेदन कम परेको हुन सक्छ ।”
उनका अनुसार यस योजनासम्बन्धि फेरी पनि पालिकाको शिक्षा समितिको बैठक बसेर आगामी कार्यका बारेमा निर्णय हुनेछ ।
नगरपालिका भित्र अहिले सामुदायिक २० विद्यालयहरु रहेका छन् । त्यसमध्ये निम्न माध्यमिक तहमा ४७ र माविमा ४५ जना स्थायी शिक्षक छन् । प्राथमिक तहमा मात्रै एक सय २७ शिक्षक कार्यरत छन् । यी मध्ये ६३ जना २५ वर्षे सेवा अवधि पार गरेका शिक्षक छन् भने साविकको उच्च मावि दरबन्दीमा तीन जना शिक्षक कार्यरत छन् ।



