काठमाण्डौं/६ चैत– कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा जापानको टोक्यो सिटी युनिभर्सिटीबाट विद्यावारिधि हासिल गरेका छन् ।
विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गरेका हुन् ।
शुक्रबार एक विशेष समारोह आयोजना गरेर टोकियो सिटी विश्वविद्यालयले शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातकोत्तर समेत गरेका शाहीले विकासोन्मुख देशहरुले उर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन् ।
उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बनेका छन् । विद्यावारिधिको क्रममा शाहीका अनुसन्धानमूलक २ वटा सामग्री विश्वकै नम्बर १ जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै, उनी विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारहरुमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसकेका छन् । उनले टोक्यो युनिभर्सिटीबाट वेस्ट प्रिजेन्टेशन अवार्ड समेत प्राप्त गरेका छन् ।
कर्णाली जस्तो विकट ठाउँमा बसेर प्रारम्भिक शिक्षा गरेका शाही जिल्लाको रास्कोट नपा ५ का एक सामान्य परिवारका बासिन्दा हुन् । उनको अध्ययनले नेपालको उर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ । स्रोतका अनुसार शाहीसँगै कालिकोटमा विद्यावारिधि गर्ने व्यक्तिहरुको संख्या दुई जना पुगेको छ । यसअघि डा.नन्दबहादुर सिंहले पनि जापानबाटै विद्यावारिधि गरेका थिए ।



