लमजुङ/४ काठमाण्डौं– लमजुङको एक विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत १८ बर्षीय विनोद विश्वकर्माको मंगलबार मृत्यु भएको हो ।
भुजुङस्थित क्व्होलासोंथर गाउँपालिका– ४ मा रहेको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको र दुई जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइतेहरुमा छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको अहिले उपचार भइरहेको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत् पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।
भजुङमा चट्याङ परेर विद्यार्थी घाइते भएको जानकारी आउनासाथ तत्कालै प्रदेशमा सम्पर्क गराई हेलिकप्टरका लागि पहल गरिएको र उद्दार गरी उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताएका छन् ।
चट्याङबाट अहिले विद्यालय भवन र छात्राबासमा जोडिएका विद्युतका तारहरू समेत छिन्नभिन्न भएका छन् ।
चट्याङले छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई जना गम्भीर घाइते


