यौन दुव्र्यवहारमा आरोपित शिक्षक रिहाईको माग गर्दै शिक्षकहरुको आन्दोलन

कञ्चनपुर/१८ फागुन– कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ मा एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकको रिहाईको माग गर्दै सोही विद्यालयका शिक्षकहरुले आन्दोलन गरेका छन् ।
सुनियोजित रुपले फसाएर कानुन विपरित पक्राउ गरिएको भन्दै विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विरोध गर्दै आईरहेका छन् । विद्यालयमा विरोध स्वरुप शिक्षकहरुले आइतबार र सोमबार हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।
शिक्षक ढुंगानाको रिहाईका लागि सरोकारवाला तथा सम्बन्धित निकायहरुमा आग्रह गरिसकेको सोही विद्यालयका प्रधानाध्यापक रमेशसिंह भण्डारीले बताए । शिक्षकको रिहाई नगरे आगामी दिनमा विरोध कार्यक्रमलाई झन् तीव्र बनाउने उनले बताए ।
विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानाले विद्यालय परिसरमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपका आधारमा फागुन ७ गते प्रहरीले पक्राउ गरेको थियो ।