महोत्तरी /२९ माघ– महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका–१२ कान्तिबजारमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरुवात् गरेको छ ।
विद्यालयले सोमबार कार्यक्रमको आयोजना गर्दै नेपालमै पहिलोपटक आयुर्वेद विज्ञान सम्बन्धी थप ज्ञान प्रदान गर्न स्नातकको पढाइ सञ्चालन गरेको हो ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगरपालिकाले नेपालमै पहिलोपटक आयुर्वेदमा सो तहको पठनपाठन शुरुआत गराउन सफल भएको बताए । साथै, उनले आयुर्वेदको शिक्षालाई अब सबैले आधुनिक विज्ञानसँग जोड्दै लैजानुपर्ने कुरामा जोड दिए ।
उनले भने, ‘पश्चिमी विज्ञान तथा संस्कृतिको प्रभावले गर्दा अहिलेका व्यक्तिले प्राचीन योग, ध्यान र आयुर्वेदलाई बेवास्ता गरेको पाईन्छ ।’ अहिलेको युगमा स्वस्थ जिवनशैली अपनाउन र सक्षम जनशक्ति उत्पादन गर्न तथा दीर्घजीवी हुन योग, ध्यान र आयुर्वेदको ठूलो भूमिका रहने उनको भनाई छ ।
प्राचीन विज्ञानलाई जीवन्त राख्नका लागि पनि यस्तो शिक्षाको सदुपयोग गर्नुपर्ने उनले आग्रह समेत व्यक्त गरेका छन् ।



