काठमाण्डौं/२९ माघ– काठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नका लागि भन्दै १ सय ७२ जना नेपाल भाषी प्रशिक्षण सहायकको माग गरेको छ ।
महानगरको नेपाल भाषा व्यवस्था समितिको हिजो बसेको बैठकको निर्णयअनुसार महानगरले पारिश्रमिक व्यवस्था गर्नेगरी आज प्रशिक्षकका लागि विज्ञापन खुलाएको हो ।
महानगरले निर्माण गरेको सो पाठ्क्रम केही महिना अघि आफ्नो मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई चालु शैक्षिक सत्रबाटै कार्यान्वयन गर्न निर्देशन दिए पनि विद्यालयले प्रशिक्षकको अभावमा कार्यान्वयनमा अहिलेसम्म ल्याउन सकेका छैनन् ।
गत असोजमा सम्पन्न नगरकार्यपालिकाको ५१ औं बैठकले महानगर भित्र कक्षा १ देखि ८ सम्म नेपाल भाषाको स्थानीय पाठ्यक्रम अनिवार्य लागु गर्न भन्दै महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको थियो ।
विद्यालयमा भएका शिक्षकहरुले स्थानीय पाठ्यक्रममा समावेश गरिएको भाषा समस्याका कारण सो पाठ्यक्रम कार्यान्वयनमा आउन नसके पछि महानगरले सामुहिक विज्ञापन गरेर प्रशिक्षक छनोट गर्न लागेको महानगरको शिक्षा विभागले जानकारी दिए ।
स्थानीय पाठ्यक्रममा महानगर र सेरोफेरो, स्थानीय चाडपर्व, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व रहनसहन, भाषा र लिपी, स्थानीय पेसा व्यवसाय र पर्यटन, नैतिक शिक्षा, भौगोलिक लगायतका विषय गरी पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिएका छन् ।
कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक पाठ्य सामग्री समावेश गरेर महानगरले पाठ्यवस्तु चयन गरेको छ ।
महानगरभित्रका सामुदायिक र संस्थागत गरी ७५० विद्यालय छन् । त्यसमध्ये ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् भने ६४० वटा संस्थागत विद्यालय रहेका छन् ।
काठमाण्डौं महानगरद्वारा १७२ जना नेपाल भाषी प्रशिक्षण सहायकको माग


