कर्णाली /२९ माघ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा बोल्दै शाहीले कर्णालीका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । “कर्णालीमा कुपोषणलगायतका थुप्रै रोग छन”, उहाँले भन्नुभयो, “यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।”
कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताउनुभयो । उहाँले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।



