पाँच वर्षपछि बल्ल ‘दरबार हाइस्कुल’मा पठनपाठन सुरू

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

काठमाण्डौं/१८ माघ– काठमाण्डौको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।
भूकम्प गएको पाँच वर्षपछि पुनःनिर्माण गरी शिक्षक र विद्यार्थीको भौतिक सहभागितामै स्कूलले पठनपाठन सञ्चालन गरिएको हो ।


नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि गत फागुनमै आकर्षक रुपले यसको पुनःनिर्माण सकिएको थियो । तर, कोरोना भाइरसका कारण सरकारलाई हस्तान्तरण भने हुन सकेको थिएन । त्यसको नौ महिनापछि अर्थात् गत कात्तिक ५ गते राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट सो स्कूलको उद्घाटन भएको थियो ।


कोरोना महामारीको कारण लामो समय यहाँका विद्यार्थी–शिक्षकहरुले अनलाइन माध्यमबाट नै पठनपाठन अघि बढाएका थिए । एक साताअघि कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही बाँकी काम सम्पन्न गर्दै आजदेखि विद्यालय सञ्चालन गरिएको कामपा वडा २७ का सदस्य प्रवेशमान बज्राचार्यले बताए ।


नयाँ भवनको निर्माण सम्पन्न भएसँगै विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि विद्यालयले अहिले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्न सिट क्षमता बढाएको छ । पुनर्निर्माणपछि विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थी बस्न सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सक्ने गरी क्षमता बिस्तार गरेको छ । नौ रोपनी जमिनमा निर्माण गरिएको सो चारतले विद्यालय भवन आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण भए पनि यसको स्वरूप पहिलेको जस्तै देखिन्छ ।


तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी पहिलो औपचारिक विद्यालयको रुपमा ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।


चीन सरकारको पूर्ण सहयोगमा करिब ८५ करोड ५९ लाख लागतमा निर्माण गरिएको उक्त भवनमा ६० वटा कक्षाकोठा छन् ।कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।


चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनद्वारा निर्मित नयाँ भवनमा प्रयोगशाला समेतको सुविधा रहेको छ । भवनभित्र विज्ञान प्रयोगशालालगायत योगाभ्यास कक्ष, कम्प्युटर प्रयोगशाला, आयुर्वेदिक प्रयोगशाला, चमेना गृह, दुईवटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् ।

दरबार हाइस्कुल हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।


  • 2K
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *