काठमाडौं/१६ साउन- उच्च शिक्षालय तथा माध्यमिक विद्यालयकाे छाता संगठन (हिसान) र एनसेलबीच अनलाइन कक्षा तथा सिकाईका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई सुलभ दरमा माेबाइल सेवा उपलब्ध गराउने सम्झौता भएकाे छ ।
सम्झौत अनुसार एनसेलले अनलाइन कक्षा तथा सिकाईका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई विशेष मासिक योजना प्रदान गर्ने छ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन एक सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा रहेको छ ।
यसैगरी मासिक ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले काेराेना महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अनुमान गर्न सकिने अवस्था नरहेकाले विद्यार्थीकाे पठनपाठनलाई सहज बनाउन सहकार्य गरेकाे जानकारी दिए । यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षकले यो सेवा लिन सक्छन् ।
सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।