काठमाडौँ /६ कार्तिक – वर्षमा एक पटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ । आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन् ।
तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैँले खुसी ल्याउन सकेन । न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो । असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो ।
दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौंमा मृत्यु भयो। टीकाकै दिन उनको शव घर ल्याइपु¥याउँदा गाउँको पीडा झन् गहिरियो ।
घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए । आफ्ना सन्तान तथा आफन्त गुमाउनुपरेको पीडा र घाइते बालबालिकाको अवस्थाका कारण गाउँलेलाई यस वर्ष दसैँ मनाउन मन लागेन ।
पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरी यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेका थिए । दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थीको शव टीकाकै दिन घर ल्याइपु¥याउँदा गाउँमा थप सन्नाटा छाएको उनले बताए ।
’यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन । चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैँ मनाउने मन भएन। कसैले आफ्ना बालबालिका गुमाउनुपरेको छ भने कतिपय टोलका बालबालिका दुर्घटनामा घाइते भएका छन् । यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन्,’ वडाध्यक्ष लामिछानेले भने ।
दसैँका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडकसमेत यसपटक सुनसान रह्यो। विगतका वर्षमा दसैँको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहल। गाउँका सडकदेखि बस्तीसमेत सुनसान बने । रासस



