कक्षा १ देखि ११ सम्मका प्रमाणपत्र अनिवार्य प्रमाणीकरण गर्न निर्देशन

काठमाडौं/२७ असोज – शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले जारी गरेको सूचनाअनुसार कक्षा १ देखि ९ सम्म र कक्षा ११ का प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्नेछ ।


त्यस्तै, उच्च शिक्षासम्बन्धी प्रमाणपत्र सम्बन्धित विश्वविद्यालयबाट प्रमाणीकरण गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।


प्रमाणीकरण गरिएका प्रमाणपत्रमा सम्बन्धित कार्यालयको छाप, प्रमाणीकरण गर्ने अधिकारीको आधिकारिक हस्ताक्षर, पद र मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।


उक्त व्यवस्थाको कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई आवश्यक जानकारी गराइएको छ ।