काठमाडौँ /१९ असोज – प्रारम्भिक बाल शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) ले आयोजना गरेको प्रारम्भिक तहको शिक्षा र नीतिगत संरचनासम्बन्धी छलफलमा सहभागी सरोकारवालाले प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका हुन् ।
अपेनले आइतबार काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा आयोजना गरेको ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’मा यस्तो विचार व्यक्त गरिएको हो । कार्यक्रममा विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाको स्थान, यसको व्यवस्थापन, नीतिगत संरचना तथा कार्यान्वयनका विषयमा प्यानल छलफल र विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।
अपेन केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा ओजस्वी शेरचन प्रमुख अतिथिका रूपमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य सदस्य तथा सोही समितिका सदस्य समेत रहेका गुरु प्रसाद बराल, प्रतिनिधिसभा सदस्य रन्जु दर्शना आदिको आतिथ्य रहेको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरू, शैक्षिक अभियन्ता तथा बाल विकासको क्षेत्रमा योगदान गर्दै आएका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रारम्भिक बाल शिक्षाका विभिन्न आयामबारे कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो। नेपाल सरकारका पूर्व सचिव डा. महाश्रम शर्माले ‘इसीडी पोलिसी रिभ्यु एन्ड फ्युचर डिरेक्सन’ विषयमा कार्यपत्र प्रस्तुत गरे। अपेनका संस्थापक अध्यक्ष बद्रीप्रसाद दाहालले ‘अर्ली ग्रेड एजुकेसन इकोसिस्टम’ विषयमा प्रस्तुति दिएका थिए ।
त्यस्तै, शैक्षिक अभियन्ता अभिषेक घिमिरेले ‘अर्ली ग्रेड एजुकेसन थ्रु कम्युनिटी पर्सपेक्टिभ’, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले ‘स्पिरिचुअल पिस एन्ड भ्यालुज इन अर्ली ग्रेड स्कुल एजुकेसन’ तथा इसीडी विज्ञ डा. मीनाक्षी दाहालले ‘सिन्थेसिस एन्ड रिमाक्र्स’ विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रारम्भिक बाल शिक्षासम्बन्धी नीति निर्माण गर्दा बालबालिकाको आवश्यकता, शिक्षकको भूमिका र व्यवहारिक कार्यान्वयन पक्षलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको थियो। प्रारम्भिक तहमा लगानी, गुणस्तरीय जनशक्ति, उपयुक्त सिकाइ वातावरण र स्पष्ट नियमनबिना अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने सहभागीको धारणा थियो ।
प्यानल छलफलमा प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बराल, रन्जु दर्शना, शैक्षिक अभियन्ता अभिषेक घिमिरे र अपेनका अध्यक्ष कृष्णकुमार बोहरा सहभागी थिए । सञ्चारकर्मी समा थापाले सहजीकरण गरेको छलफलमा विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षा र नीतिगत स्पष्टता विषयमा बहस गरिएको थियो । सहभागीहरूले प्रारम्भिक बाल शिक्षाको संरचना, राज्यको दायित्व, शिक्षकको भूमिका तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे धारणा राखेका थिए ।
छलफलका क्रममा प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको आधारका रूपमा लिएर त्यसको उद्देश्य, संरचना, सञ्चालन तथा नियमनबारे स्पष्ट व्यवस्था गर्नुपर्ने विषय उठाइएको थियो । प्रारम्भिक तहको शिक्षालाई केवल विद्यालय प्रवेश पूर्वको तयारीका रूपमा नभई बालबालिकाको सिकाइ, व्यवहार, सामाजिक विकास र समग्र व्यक्तित्व निर्माणको आधारका रूपमा विकास गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षासम्बन्धी व्यवस्था गर्दा यस क्षेत्रमा कार्यरत शिक्षक तथा शिक्षाकर्मीको भूमिका, उनीहरूको क्षमता विकास, संस्थागत संरचना तथा राज्यको दायित्वलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो ।
अपेनले प्रारम्भिक बाल शिक्षाको नीति तथा संरचनाबारे सरोकारवालाबिच बहस र संवाद बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षासम्बन्धी विषयलाई स्पष्ट, व्यवहारिक र बाल केन्द्रित ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ ।



