विद्यालय शिक्षा परीक्षामुखी होइन, सर्वाङ्गीण विकासको आधार बन्नुपर्ने सुझाव

काठमाडौँ /१८ असोज – नेपालको विद्यालय शिक्षा ज्ञान हस्तान्तरण र परीक्षा उत्तीर्ण गराउने प्रणालीमा मात्र सीमित नरही विद्यार्थीको सर्वाङ्गीण विकास र भविष्य निर्माणको आधार बन्नुपर्ने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले सुझाव दिइएको छ । शिक्षाले विद्यार्थीलाई सोच्न, सिक्न, खोज्न, प्रयोग गर्न, सिर्जना गर्न, सहकार्य गर्न र समस्या समाधान गर्न सक्षम बनाउनुपर्ने विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जन कार्यदललाई सुझाब दिएको हो ।


साथै प्रविधिको जिम्मेवार प्रयोग गर्न र बदलिँदो परिवेशमा नयाँ अवसर पहिचान तथा सिर्जना गर्न सक्ने बनाउनुपर्ने हिसानले बुझाएको सुझाब पत्रमा उल्लेख छ । यसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूपमा मूल्य, संस्कार र आध्यात्मिक चेतना, जीवनोपयोगी सीप, विज्ञान तथा प्रविधि, डिजिटल तथा एआई साक्षरता, अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता, वृत्तिविकास अभिमुखीकरण, सामाजिक भावनात्मक विकास, नागरिक चेतना र वातावरणीय जिम्मेवारीलाई तहगत रूपमा एकीकृत गर्नुपर्ने जनाएको छ ।


यसैगरी स्थानीय भाषा, संस्कृति, ज्ञान र आवश्यकतालाई राष्ट्रिय प्राथमिकता तथा विश्वव्यापी ज्ञान, सीप र अवसरसँग जोड्नुपर्नेमा पनि जोड दिइएको छ । पाठ्यक्रम विद्यार्थीको रुचि, क्षमता र आवश्यकताअनुसार लचिलो, प्रयोगात्मक, परियोजनामूलक र जीवनसँग जोडिएको सिकाइ सुनिश्चित गर्ने गरी तयार गर्नुपर्ने उल्लेख छ ।


पाठ्यक्रम कार्यान्वयनका लागि सक्षम र भविष्यउन्मुख शिक्षक, प्रभावकारी विद्यालय नेतृत्व, आवश्यक पूर्वाधार, प्रविधिमैत्री सिकाइ वातावरण र निरन्तर तथा समग्र मूल्याङ्कन प्रणालीलाई अभिन्न अङ्ग बनाउनुपर्ने सुझाव छ । यसरी विद्यालय शिक्षाले चरित्रवान, सक्षम, सिर्जनशील, आत्मनिर्भर, उद्यमशील र उत्तरदायी मानव पुँजी निर्माण गर्दै समृद्ध र दिगो नेपालको आधार तयार गर्नुपर्ने उल्लेख गरिएको छ ।