प्रारम्भिक कक्षादेखि नै बालबालिकालाई नैतिक शिक्षा दिनुपर्छ : प्रिन्सिपल महर्जन

काठमाडौँ /११ असोज – सुदेशा स्कुलकी प्रिन्सिपल विरंगना महर्जनले बालबालिकाको विकासका चरण फरक–फरक हुने भएकाले प्रारम्भिक कक्षादेखि नै उनीहरूलाई नैतिक शिक्षाबारे सिकाउनुपर्ने बताएकी छन् ।


विद्यार्थीलाई सानै कक्षादेखि दैनिक जीवनका साना–साना विषयमा के गर्ने र के नगर्ने भन्ने कुरा सिकाउँदै क्रमशः जिम्मेवार बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।


हरेक पुस्तामा पढ्ने र सिक्ने विषयलाई कसरी सहज र व्यवहारिक बनाउने भन्नेमा ध्यान दिनुपर्ने उल्लेख गर्दै महर्जनले फरक उमेर समूहका बालबालिकालाई जिम्मेवारीबोध गराउन आवश्यक रहेको बताइन् । सबैले नैतिकताका विषयमा सोच्न र व्यवहारमा उतार्न सके मात्रै नैतिकताको विकास हुने उनको भनाइ छ ।


नैतिक शिक्षाकै सन्दर्भमा कपाल काट्ने विषयको उदाहरण दिँदै महर्जनले पछिल्लो समय बालबालिकालाई केही कुरा भन्नसमेत शिक्षक तथा प्रधानाध्यापकहरू त्रसित हुनुपर्ने अवस्था देखिएको बताइन् ।


यस्ता विषयमा हामी गहिरो सिकाइ र बुझाइमा चुकिरहेको उनको भनाइ छ । कपाल काट्न वा नकाट्न निर्देशन दिनेभन्दा पनि बालबालिकालाई जबरजस्ती कपाल काट्न नलगाउने विषयलाई बुझ्नुपर्ने उनले बताइन् । उनका अनुसार यो विषय स्वास्थ्यसँग पनि जोडिएको छ ।


यस्ता सवालमा अफवाह फैलाउनेभन्दा पनि सम्बन्धित सरोकारवाला निकायले वास्तविक अवस्थाबारे छलफल गरी आवश्यक नीति तथा व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने महर्जनको भनाइ छ ।

यहाँबाट हेर्नुहोस भिडियो