काठमाडौं /१० असोज – पाठ्यक्रममा नैतिक शिक्षा समावेश गरेर मात्र नपुग्ने भन्दै त्यसलाई घर, विद्यालय र समाजमा व्यवहारमै कार्यान्वयन गराउनुपर्ने प्याब्सनका केन्द्रीय महासचिव आरबी कटवालले बताएका छन् ।
नैतिकवान शिक्षकले कक्षाकोठामा सिकाएको विषयलाई विद्यार्थीको दैनिक व्यवहारमा लागू गराउन परिवार, विद्यालय र समाजको पनि महत्वपूर्ण भूमिका हुने उनले बताए । बालबालिकालाई व्यवहारिक र जिम्मेवार बनाउन घरबाटै आवश्यक वातावरण र व्यवहारिक अभ्यासको अवसर दिनुपर्ने उनको भनाइ छ ।
“नैतिक शिक्षा सिकाएर मात्रै हुँदैन, त्यसलाई घर, विद्यालय र समाजमा कार्यान्वयन गराउनुपर्छ,” कटवालले भने, “कार्यान्वयनसँगै घरले पनि बालबालिकालाई व्यवहारिक बन्ने अवसर र जिम्मेवारी दिनुपर्छ ।”
भर्खरै जारी शिक्षा नियमावलीमा समेत नैतिकतासँग सम्बन्धित विषयहरू समेटिएको उनले बताए । विद्यालयमा ‘ड्रेस कोड’ र अनुशासनका नाममा विद्यार्थीमाथि गरिने अमर्यादित व्यवहार भने स्वीकार्य नहुने उनको भनाइ छ ।
मन्त्रालयमा भएको छलफलका क्रममा विद्यालयमा ‘डीआई’का नाममा विद्यार्थीमाथि आतंक सिर्जना गरिएको विषय उठेको उल्लेख गर्दै कटवालले त्यस्तो अभ्यास गलत भएको बताए । उनका अनुसार विद्यालयको अनुशासन कायम गर्ने जिम्मेवारी विद्यालय प्रशासन र प्रधानाध्यापकको हो, तर त्यसका नाममा विद्यार्थीलाई सार्वजनिक रूपमा अपमान गर्ने वा जबर्जस्ती कपाल काट्ने जस्ता व्यवहार उचित हुँदैन ।
उनले शिक्षा नियमावलीले विद्यार्थीलाई सरसफाइ र अनुशासन सिकाउन रोक नलगाएको पनि स्पष्ट पारे । कपाल काट्ने, नुहाउने, कपाल कोर्ने, कपडा सफा गर्ने तथा आईरन लगाउने, टाई लगाउने, नङ काट्ने, जुत्ता पालिस गर्ने र दाँत माझ्ने जस्ता व्यक्तिगत सरसफाइ तथा अनुशासनका विषय सिकाउन रोक नभएको उनले बताए ।
नियमावलीको विषयलाई केही विद्यार्थी, अभिभावक र समाजमा गलत रूपमा बुझाइएको भन्दै कटवालले त्यसमा विद्यालय, परिवार र समाज सबैको कमजोरी रहेको स्वीकार गरे ।
शिक्षा मन्त्रालयले नियमावलीमा भएको व्यवस्थालाई थप स्पष्ट पार्दै आवश्यक स्पष्टीकरणसहितको पत्र विद्यालयहरूमा पठाए समस्या समाधान हुनसक्ने उनको धारणा छ । “नियमावलीमा भएको विषयलाई स्पष्ट रूपमा बुझाइदिन मन्त्रालयले एउटा पत्र सम्प्रेषण गरिदिए यसले देखिएको अन्योल धेरै हदसम्म समाधान हुन्छ,” कटवालले बताए ।



