काठमाडौँ /२८ असोज – जीवनका केही यात्राहरू गन्तव्यमा पुगेर समाप्त हुँदैनन्, बरु नयाँ सोच, ज्ञान, आत्मविश्वास र सम्भावनाका ढोकाहरू खोलेर दीर्घकालसम्म स्मरणीय रहन्छन् । मेरा लागि भारतको पुणेमा आयोजित अंग्रेजी भाषा शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता यस्तै अर्थपूर्ण अनुभव बन्यो। यस यात्राले अनुसन्धान प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय विद्वानहरूसँग विचार आदानप्रदान गर्ने, शैक्षिक नेतृत्वको अभ्यास गर्ने, नयाँ परिवेश बुझ्ने र आफ्नो व्यावसायिक भूमिकालाई पुनर्विचार गर्ने अवसर प्रदान ग¥यो । सम्मेलनसँग जोडिएका व्यक्तिगत यात्रा, आफन्तसँगको आत्मीय भेटघाट, सहकर्मीसँगको सहकार्य र नयाँ सहरको अवलोकनले यस अनुभवलाई अझ समृद्ध बनाएका छन् ।
अक्टोबर ७ देखि १०, २०२६ सम्म भारतको महाराष्ट्र राज्यस्थित पुणेमा रहेको MIT Art, Design and Technology University मा अंग्रेजी भाषा शिक्षक संघ भारत (English Language TeachersÚ Association of India, ELTAI) द्वारा आयोजित २०औँ अन्तर्राष्ट्रिय तथा ५६औँ वार्षिक सम्मेलनको विषय थियो, “ English on the EdgeM Survive ? Evolve ? Thrive ? ” यस विषयले बदलिँदो विश्वमा अंग्रेजी भाषा, भाषा शिक्षक, शिक्षक शिक्षा र व्यावसायिक विकासका चुनौती तथा सम्भावनाबारे गम्भीर विमर्श गर्ने अवसर प्रदान ग¥यो ।
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाट छनौट भई ELTAI को निमन्त्रणामा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन पाउनु मेरा लागि गौरव र जिम्मेवारी दुवै थियो। सम्मेलनमा मैले सेसन चेयरपर्सन, आमन्त्रित लाइटनिङ टक वक्ता र अनुसन्धानपत्र प्रस्तुतकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेँ। यसका साथै विभिन्न देशका शिक्षक, अनुसन्धानकर्ता र शिक्षाविद्सँग संवाद गर्ने तथा नेपालका अंग्रेजी भाषा शिक्षक शिक्षाविद्का अनुभव अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर पाएँ ।
महेन्द्रनगरदेखि पुणेसम्म : नयाँ अनुभवतर्फको प्रस्थान
अक्टोबर ३ तारिखको साँझ महेन्द्रनगर, कञ्चनपुरबाट सुरु भएको मेरो यात्रा केवल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने औपचारिक यात्रामात्र थिएन। यो नयाँ परिवेशमा आफूलाई अनुकूल बनाउने, दैनिक जीवनका विविध अनुभवबाट सिक्ने र व्यक्तिगत आत्मविश्वास विस्तार गर्ने अवसर पनि थियो ।
भारतको गाजियाबाद पुगेपछि आफन्तको घरमा एक दिन बिताएँ। आफन्तसँगको भेटघाट र आत्मीय आतिथ्यले यात्राको थकान कम गर्नुका साथै घरबाट टाढा हुँदा पनि सम्बन्धको न्यानोपनले कति सहजता प्रदान गर्छ भन्ने अनुभूति गरायो । त्यसपछि दिल्ली पुगेर सहरका प्रमुख स्थानहरू अवलोकन गर्ने अवसर पाएँ। व्यस्त सहरी जीवन, सार्वजनिक संरचना र मानिसहरूको चहलपहललाई नजिकबाट नियाल्दा पुस्तक तथा सञ्चारमाध्यमबाट प्राप्त जानकारीलाई प्रत्यक्ष अनुभवसँग जोड्न सकियो ।
अक्टोबर ६ तारिखको बिहान दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई यात्रामार्फत पुणेतर्फ प्रस्थान गरेँ। भारतमा मेरो यो पहिलो हवाई यात्रा थियो । विमानस्थलका प्रक्रिया, सुरक्षा जाँच, बोर्डिङ र हवाई यात्राको अनुभव मेरा लागि नयाँ र स्मरणीय रहे। त्यस्तै, मेट्रो रेल, उबर र अटो रिक्सा प्रयोग गर्दा अपरिचित सहरमा यात्रा व्यवस्थापन गर्ने, समयको सदुपयोग गर्ने र उपलब्ध विकल्पअनुसार निर्णय लिने व्यावहारिक सिकाइ प्राप्त भयो ।
यी अनुभवले मलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाएः सिकाइ औपचारिक कक्षाकोठा र पुस्तकमा मात्र सीमित हुँदैन । नयाँ स्थानको अवलोकन, अपरिचित परिस्थितिसँगको सामना, मानिसहरूसँगको अन्तरक्रिया र दैनिक समस्याको समाधानले पनि व्यक्तिको ज्ञान, व्यवहार र आत्मविश्वास विकास गर्छ । शिक्षक स्वयं निरन्तर सिक्ने यात्रामा रहन सकेमा मात्र विद्यार्थीलाई जीवनपर्यन्त सिकाइका लागि प्रेरित गर्न सक्छ ।
पुणेमा अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँगको सहकार्य
पुणे पुगेपछि मेरो मुख्य ध्यान सम्मेलनका शैक्षिक गतिविधिमा केन्द्रित भयो। चार दिनसम्म चलेको सम्मेलनमा भारतलगायत विभिन्न देशका अंग्रेजी भाषा शिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक र शैक्षिक नेतृत्वकर्ताहरूको सहभागिता थियो। अंग्रेजी भाषा शिक्षण, शिक्षकको व्यावसायिक विकास, आत्मचिन्तनात्मक अभ्यास, बहुभाषिकता, ट्रान्सल्याङ्ग्वेजिङ, डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता र शिक्षकको बदलिँदो भूमिकाजस्ता विषयमा भएका छलफलले मेरो दृष्टिकोणलाई फराकिलो बनायो ।
नेपालबाट १५ जनाभन्दा बढी अंग्रेजी भाषा शिक्षक तथा शिक्षासम्बद्ध साथीहरूको सहभागिता हुनु पनि उत्साहजनक पक्ष थियो । नेपाली सहभागीहरूबीच अनुभव आदानप्रदान, पारस्परिक सहयोग र समन्वयले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सामूहिक उपस्थिति बलियो बनाउन योगदान पु¥यायो। आफ्नो देशको प्रतिनिधित्व गर्नु व्यक्तिगत पहिचान प्रस्तुत गर्नु मात्र होइन, आफ्नो शैक्षिक परिवेशका अनुभव, चुनौती र सम्भावनालाई व्यापक समुदायसँग जोड्नु पनि हो भन्ने अनुभूति भयो ।
सम्मेलनले अंग्रेजी भाषा शिक्षणमा परिवर्तन अपरिहार्य रहेको स्पष्ट पारेको थियो । प्रविधिको विकास, विद्यार्थीको बदलिँदो आवश्यकता र बहुभाषिक कक्षाकोठाको वास्तविकताले शिक्षकलाई विषयवस्तुको ज्ञानसँगै आलोचनात्मक सोच, अनुकूलन क्षमता, प्रतिबिम्बात्मक अभ्यास र निरन्तर व्यावसायिक विकासमा जोड दिन प्रेरित गर्छन् ।
शैक्षिक नेतृत्वको अनुभव : सेसन चेयरपर्सनको भूमिका
अक्टोबर ७ तारिख सम्मेलनको पहिलो दिन मैले अनुसन्धानपत्र प्रस्तुति सत्रको सेसन चेयरपर्सनका रूपमा जिम्मेवारी निर्वाह गरेँ। प्रस्तुतकर्ताहरूको परिचय गराउने, समय व्यवस्थापन गर्ने, प्रस्तुति व्यवस्थित रूपमा सञ्चालन गर्ने र प्रश्नोत्तर तथा शैक्षिक छलफललाई सहजीकरण गर्ने कार्य मेरा प्रमुख जिम्मेवारी थिए ।
यस भूमिकाले नेतृत्व भनेको औपचारिक पद वा निर्देशन दिने अधिकार मात्र होइन भन्ने कुरा व्यवहारमै बुझायो। प्रभावकारी नेतृत्वका लागि अरूको विचार ध्यानपूर्वक सुन्ने, सबैलाई उचित अवसर दिने, समयको सम्मान गर्ने र सामूहिक उद्देश्य हासिल गर्न सहयोग गर्ने क्षमता आवश्यक हुन्छ ।
कक्षाकोठामा शिक्षकले विद्यार्थीहरूको सहभागिता व्यवस्थापन गरेझैँ शैक्षिक सत्रको अध्यक्षले पनि प्रस्तुतकर्ता र सहभागीबीच अर्थपूर्ण संवादको वातावरण बनाउनुपर्छ। यस अनुभवले मेरो सञ्चार, समन्वय, समय व्यवस्थापन र शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सीपलाई थप परिष्कृत गर्ने अवसर प्रदान ग¥यो ।
आमन्त्रित लाइटनिङ टक : योग्यतादेखि प्रभावकारी शिक्षणसम्म
अक्टोबर ८ तारिख पुणेको UTK Auditorium मा दिउँसो २ः०० देखि ३ः१० बजेसम्म आयोजित लाइटनिङ टक्स सत्रमा आमन्त्रित वक्ताका रूपमा प्रस्तुत हुने अवसर पाएँ। डा. चुम्की विश्वासले सहजीकरण गर्नुभएको उक्त सत्रमा मेरो प्रस्तुतीकरणको शीर्षक थियो, “ We are qualified, But do we make good teachers ?”
यस प्रस्तुतिको मूल प्रश्न थियो : शैक्षिक योग्यता हासिल गर्नु र प्रभावकारी शिक्षक बन्नु एउटै कुरा हुन् त ?
शैक्षिक उपाधि, विषयगत ज्ञान र व्यावसायिक प्रमाणपत्र शिक्षकको तयारीका महत्त्वपूर्ण आधार हुन् । तर प्रभावकारी शिक्षणका लागि यति मात्र पर्याप्त हुँदैन । विद्यार्थीको आवश्यकता बुझ्ने, उपयुक्त शिक्षण विधि छनोट गर्ने, कक्षाकोठाको वास्तविकताअनुसार आफूलाई अनुकूल बनाउने, सहानुभूतिपूर्ण व्यवहार गर्ने र आफ्ना अभ्यासको समीक्षा गर्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ ।
मैले जोड दिएको मुख्य पक्ष के थियो भने शिक्षकको वास्तविक दक्षता प्रमाणपत्रमा मात्र होइन, विद्यार्थीको सिकाइमा ल्याउन सकिने सकारात्मक परिवर्तनमा पनि प्रतिबिम्बित हुनुपर्छ । यसले शिक्षक शिक्षा, नियुक्ति, मूल्याङ्कन र व्यावसायिक विकासलाई वास्तविक कक्षाकोठाको अभ्याससँग जोड्नुपर्ने आवश्यकतामाथि विमर्श गर्ने अवसर प्रदान ग¥यो ।
नेपालको सन्दर्भमा पनि यो प्रश्न महत्त्वपूर्ण छ । शिक्षकलाई आवश्यक योग्यता प्रदान गर्नुका साथै निरन्तर तालिम, आत्मचिन्तन, सहकर्मी सहयोग र अनुसन्धानमा आधारित अभ्यासका अवसर उपलब्ध गराउनुपर्छ । आमन्त्रित वक्ताका रूपमा आफ्ना विचार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु मेरा लागि व्यक्तिगत उपलब्धिसँगै नेपाली शिक्षकहरूको अनुभवलाई व्यापक शैक्षिक संवादमा जोड्ने अवसर बन्यो ।
अनुसन्धानपत्र प्रस्तुति : सुदूरपश्चिमका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा
सोही दिन मैले “ Experiences of English Language Teacher EducatorsÚ Reflective Practices for Professional Development in Nepal” शीर्षकको अनुसन्धानपत्र प्रस्तुत गरेँ ।
मेरो अनुसन्धान सुदूरपश्चिम प्रदेशका अंग्रेजी भाषा शिक्षक शिक्षाविद्हरूले व्यावसायिक विकासका क्रममा आत्मचिन्तनात्मक अभ्यासलाई कसरी अनुभव गर्छन् भन्ने विषयमा केन्द्रित छ । शिक्षकले आफ्नै शिक्षणको समीक्षा गर्ने, शिक्षण विधिमाथि पुनर्विचार गर्ने, सिद्धान्त र अभ्यासबीच सम्बन्ध स्थापित गर्ने, नयाँ विचार परीक्षण गर्ने र भाषिक तथा सामाजिक–सांस्कृतिक विविधताप्रति उत्तरदायी हुने प्रक्रियालाई यस अध्ययनले महत्त्व दिएको छ ।
अनुसन्धान प्रस्तुतिपछि सहभागीहरूबाट प्राप्त प्रश्न, टिप्पणी र सुझावले आफ्ना निष्कर्षलाई अझ स्पष्ट रूपमा व्याख्या गर्ने तथा भविष्यमा अध्ययन गर्न सकिने नयाँ क्षेत्र पहिचान गर्ने अवसर प्रदान ग¥यो। अन्तर्राष्ट्रिय विद्वानहरूसँग आफ्नो अनुसन्धानबारे छलफल गर्दा स्थानीय सन्दर्भमा गरिएका अध्ययनले पनि व्यापक शैक्षिक बहसमा योगदान पु¥याउन सक्छन् भन्ने आत्मविश्वास बढ्यो ।
यस अनुभवले अनुसन्धानको अर्थ तथ्य सङ्कलन र निष्कर्ष लेखनमा मात्र सीमित नहुने कुरा पुनः स्मरण गरायो । अनुसन्धानलाई अरूका विचारसँग संवादमा ल्याउने, आलोचनात्मक प्रतिक्रिया स्वीकार गर्ने र त्यसका आधारमा आफ्नो बुझाइ परिष्कृत गर्ने प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
चार दिनको सहभागिता : प्रविधि, बहुभाषिकता र व्यावसायिक विकास
अक्टोबर ७ देखि १० सम्मका चारै दिन सम्मेलनमा सक्रिय सहभागिता जनाउनु मेरो महत्त्वपूर्ण प्रतिबद्धता थियो । आफ्ना प्रस्तुति र जिम्मेवारी पूरा गरेपछि अन्य विद्वानका अनुसन्धान, विचार र अनुभवबाट सिक्न थप समय दिन सकेँ ।
डिजिटल प्रविधिले भौगोलिक दूरीका कारण सीमित भएका व्यावसायिक विकासका अवसर विस्तार गर्न सक्छ भन्ने विचार सुदूरपश्चिमको सन्दर्भमा विशेष सान्दर्भिक लाग्यो । अनलाइन छलफल, वेबिनार र डिजिटल सिकाइ समुदायमार्फत शिक्षकले आफ्नो संस्थाभन्दा बाहिरका सहकर्मीसँग सम्बन्ध विस्तार गर्न सक्छन्। तर यसका लागि भरपर्दो इन्टरनेट, डिजिटल सीप, गुणस्तरीय सामग्री र संस्थागत सहयोग पनि आवश्यक हुन्छ ।
त्यसैगरी, बहुभाषिकता र ट्रान्सल्याङ्ग्वेजिङसम्बन्धी विमर्शले विद्यार्थीको मातृभाषा र भाषिक अनुभवलाई सिकाइको स्रोतका रूपमा उपयोग गर्न सकिने सम्भावना उजागर ग¥यो । नेपालजस्तो बहुभाषिक देशमा विद्यार्थीको भाषिक पृष्ठभूमिलाई सम्मान गर्दै अंग्रेजी सिकाइका अवसर सिर्जना गर्नु आवश्यक छ ।
कृत्रिम बुद्धिमत्ता र डिजिटल उपकरणको प्रयोगबारे भएका छलफलले प्रविधि शिक्षकको विकल्प नभई उपयुक्त प्रयोग गर्न सकेमा शिक्षणलाई सहयोग गर्ने माध्यम हो भन्ने बुझाइलाई बलियो बनाए । प्रविधिको प्रयोगसँगै सामग्रीको विश्वसनीयता, नैतिकता र विद्यार्थीको वास्तविक आवश्यकतालाई ध्यान दिनुपर्छ ।
सहकार्य, सेवाभाव र नेतृत्वको वास्तविक अर्थ
सम्मेलनमा सहभागी नेपाली साथीहरूसँगको समन्वय मेरो यात्राको अर्को स्मरणीय पक्ष थियो। केही साथीहरू प्रारम्भिक दुई दिनपछि मुम्बईतर्फ भ्रमणमा जाने र घर फर्कने अवस्थामा थिए । म भने निर्धारित कार्यक्रमअनुसार अक्टोबर १० सम्म सम्मेलनमा उपस्थित रहेँ। यस क्रममा साथीहरूका प्रमाणपत्र संकलन गरी उनीहरूलाई उपलब्ध गराउन सहयोग गर्ने अवसर पाएँ ।
यस कार्यले नेतृत्वको अर्को पक्ष उजागर ग¥यो । नेतृत्व भनेको आफ्नो उपलब्धि प्रदर्शन गर्नु मात्र होइन, अरूको आवश्यकता बुझ्नु, सानो भए पनि सहयोग गर्नु र सामूहिक सफलतामा योगदान दिनु पनि हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली शिक्षकहरूको सहभागिता व्यक्तिगत उपलब्धिहरूको योग मात्र होइन, पारस्परिक सहयोग र सामूहिक पहिचानबाट पनि सशक्त बन्छ ।
यस अनुभवले आफ्नो व्यावसायिक जीवनमा सेवाभाव, सहकार्य र जिम्मेवारीलाई अझ महत्त्व दिन प्रेरित गरेको छ । आफूले प्राप्त गरेको अवसरको उपयोग गर्नुका साथै अरूका लागि अवसर सहज बनाउन सक्नु पनि शैक्षिक नेतृत्वको महत्त्वपूर्ण उपलब्धि हो ।
मुम्बईको छोटो भ्रमण : आफन्तको आत्मीयता र नयाँ सहरको बुझाइ
सम्मेलनको अनुभवको साथै मुम्बई सहरको छोटो भ्रमण गर्ने अवसर पनि प्राप्त भयो। विशेषतः मुम्बईमा रहनुभएका आफन्तहरूको सहयोग र आत्मीयताले सीमित समयमै सहरका केही प्रमुख स्थान अवलोकन गर्न तथा त्यहाँको परिवेशबारे उपयोगी जानकारी प्राप्त गर्न सहज बनायो ।
अपरिचित सहरमा स्थानीय परिवेश बुझ्ने, कहाँ जाने र कसरी समय व्यवस्थापन गर्ने भन्ने कुरा बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ । तर स्थानीय रूपमा परिचित व्यक्तिको मार्गदर्शन र सहयोगले छोटो समयलाई पनि अर्थपूर्ण अनुभवमा रूपान्तरण गर्न सकिन्छ। आफन्तहरूको सहयोगमा मुम्बईको सहरी जीवन, चहलपहल, यातायात र प्रमुख स्थानहरूको अवलोकन गर्ने अवसर पाएँ । यसले मुम्बईलाई केवल नक्सा वा सञ्चारमाध्यममा देखिने सहरका रूपमा नभई प्रत्यक्ष अनुभव गर्न सकिने सामाजिक तथा सांस्कृतिक परिवेशका रूपमा बुझ्न मद्दत ग¥यो ।
यस भ्रमणको सबैभन्दा आत्मीय पक्ष आफन्तबाट प्राप्त सहयोग र आतिथ्य थियो। व्यस्त सहरको वातावरणमा परिचित व्यक्तिको साथले यात्रालाई सहज बनाउनुका साथै सम्बन्धको महत्त्व पनि सम्झायो । व्यावसायिक यात्रामा सम्मेलनले ज्ञान र सीप प्रदान ग¥यो भने आफन्तसँगको भेटघाटले आत्मीयता, अपनत्व र मानवीय सम्बन्धको मूल्यलाई पुनः अनुभूत गरायो ।
मुम्बईमा बिताएको छोटो समयले एउटा महत्त्वपूर्ण पाठ सिकायोः नयाँ ठाउँलाई बुझ्न सधैँ धेरै समय आवश्यक नपर्न सक्छ; उद्देश्यपूर्ण अवलोकन, स्थानीय व्यक्तिको मार्गदर्शन र सिक्ने इच्छाले सीमित समयलाई पनि स्मरणीय बनाउन सक्छ । पुणेमा शैक्षिक ज्ञान र व्यावसायिक सम्बन्ध विस्तार गरेपछि मुम्बईमा प्राप्त सामाजिक तथा सांस्कृतिक अनुभवले यस यात्रालाई थप पूर्ण बनायो ।
आर्थिक व्यवस्थापन र संस्थागत सहयोगप्रतिको कृतज्ञता
यस यात्रामा आवास र खानाको व्यवस्थाबारे नेल्टाले सम्मेलन आयोजकसँग समन्वय गरेको थियो । ती व्यवस्थाबाट सहयोग प्राप्त भए पनि महेन्द्रनगरदेखि नयाँ दिल्लीसम्मको यात्रा, दिल्लीदेखि पुणेसम्मको हवाई यात्रा, स्थानीय यातायात र अन्य आवश्यक खर्च मैले व्यक्तिगत रूपमा व्यहोरेँ । यी खर्चको कुल रकम करिब रु. ४०,००० थियो । उक्त खर्च व्यवस्थापनको लागि विश्वविद्यालय अनुदान आयोग लगायतका संघ संस्थाहरूबाट प्राप्त हुने अन्तर्राष्ट्रिय सम्मेलन भ्रमण अनुदान बाट हुने कुरामा विश्वस्त रहेको छु ।
यसले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि व्यक्तिगत प्रतिबद्धतासँगै संस्थागत सहयोग पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने देखायो । शिक्षकको व्यावसायिक विकास, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्न विश्वविद्यालय तथा सम्बन्धित संस्थाहरूले आर्थिक र शैक्षिक सहयोगका अवसर विस्तार गर्न सकेमा अझ धेरै शिक्षक लाभान्वित हुन सक्छन् ।
म यस अवसरका लागि दार्चुला बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग नेपाल, NELTA, ELTAI तथा सम्मेलनसँग सम्बन्धित सबै सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
प्राप्त सिकाइलाई संस्थागत अभ्यासमा रूपान्तरण गर्ने प्रतिबद्धता
यस यात्राबाट प्राप्त उपलब्धिको वास्तविक अर्थ त्यसलाई आफ्नो कार्यक्षेत्रमा उपयोग गर्न सक्नुमा निहित छ । डार्चुला बहुमुखी क्याम्पसमा मेरो शिक्षण, अनुसन्धान र विद्यार्थीको सिकाइमा सम्मेलनका अनुभवलाई क्रमशः उपयोग गर्ने प्रतिबद्धता लिएको छु ।
आफ्नो शिक्षणको नियमित समीक्षा गर्ने, विद्यार्थीको प्रतिक्रियाका आधारमा सुधार गर्ने, डिजिटल स्रोतको जिम्मेवार प्रयोग गर्ने, बहुभाषिक परिवेशप्रति संवेदनशील हुने र सहकर्मीसँग अनुसन्धान तथा अनुभव आदानप्रदान गर्ने अभ्यासलाई निरन्तरता दिन सकिन्छ। त्यसैगरी, सम्मेलनमा सिकेका विचारहरूलाई सहकर्मी तथा विद्यार्थीमाझ शैक्षिक छलफल, प्रस्तुति र अनुसन्धानका माध्यमबाट साझा गर्न सकिन्छ ।
मेरा लागि यस यात्राको मुख्य उपलब्धि व्यक्तिगत आत्मविश्वास बढ्नु मात्र होइन, व्यावसायिक जिम्मेवारीप्रतिको बुझाइ अझ गहिरो हुनु पनि हो । अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु अवसर हो, तर त्यसबाट प्राप्त ज्ञानलाई आफ्नो संस्थामा उपयोग गर्नु र अरूसँग बाँड्नु त्यस अवसरप्रतिको जिम्मेवारी हो ।
महेन्द्रनगरबाट सुरु भएर गाजियाबाद, दिल्ली, पुणे र मुम्बईसम्म फैलिएको यो यात्रा मेरो जीवनको स्मरणीय शैक्षिक तथा व्यक्तिगत अनुभव बनेको छ । पुणेमा चार दिनसम्म आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सेसन चेयरपर्सन, आमन्त्रित लाइटनिङ टक वक्ता र अनुसन्धानपत्र प्रस्तुतकर्ताका रूपमा भूमिका निर्वाह गर्नु मेरा लागि महत्त्वपूर्ण उपलब्धि रह्यो। विभिन्न देशका शिक्षक तथा अनुसन्धानकर्तासँगको संवादले ज्ञानको दायरा विस्तार ग¥यो भने नेपाली साथीहरूसँगको सहकार्यले सामूहिक नेतृत्व र सेवाभावको महत्त्व बुझायो ।
अर्कोतर्फ, भारतमा पहिलोपटक हवाई यात्रा गर्नु, मेट्रो रेल र अन्य यातायातका साधन प्रयोग गर्नु, दिल्लीको अवलोकन गर्नु तथा गाजियाबाद र मुम्बईमा आफन्तहरूको सहयोगमा छोटो समयमै सहरको दर्शन र बुझाइ प्राप्त गर्नुले यात्रालाई शैक्षिक अनुभवभन्दा अझ व्यापक बनायो । सम्मेलनले व्यावसायिक दृष्टिकोणलाई समृद्ध बनायो भने आफन्तको आत्मीयता र नयाँ सहरका अनुभवले व्यक्तिगत जीवनमा पनि अमूल्य सम्झना थपे ।
मेरो निष्कर्षमा, एउटा सफल शैक्षिक यात्रा त्यतिबेला सार्थक हुन्छ, जब त्यसले ज्ञान मात्र थप्दैन, सोच्ने तरिका बदल्छ, जिम्मेवारीबोध बढाउँछ र अरूका लागि सकारात्मक योगदान गर्ने प्रेरणा पनि दिन्छ । पुणेको अन्तर्राष्ट्रिय सम्मेलन र मुम्बईको छोटो भ्रमणले मलाई यही कुरा अनुभूत गराएका छन् । अब यी अनुभवलाई दार्चुला बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय र समग्र नेपाली अंग्रेजी भाषा शिक्षाको विकासमा उपयोग गर्नु नै यस यात्राबाट प्राप्त उपलब्धिप्रतिको मेरो वास्तविक सम्मान हुनेछ ।
डम्मर सिंह साउद
उपप्राध्यापक, अंग्रेजी शिक्षा
दार्चुला बहुमुखी क्याम्पस
सुदूरपश्चिम विश्वविद्यालय, नेपाल



