पाठ्यक्रम प्रारूप परिमार्जनमा पानको रणनीतिक मार्गचित्रसहितको सुझाव

काठमाडौँ /६ असोज – प्रधानाध्यापक संघ, नेपाल (पान) ले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पुनरावलोकन तथा परिमार्जनका लागि डिजिटल प्रविधि, सीप, उद्यमशीलता, मूल्याङ्कन र स्थानीय पाठ्यक्रमसहित विभिन्न विषयमा सुझाव दिएको छ ।


संघले स्थानीय तहदेखि केन्द्रसम्म छलफल तथा सुझाब सङ्कलन गरी तयार पारेको अवधारणा–पत्रमा विद्यालय शिक्षालाई २१औँ शताब्दीका आवश्यकता र विद्यार्थीको व्यावहारिक जीवनसँग जोड्नुपर्नेमा जोड दिदैँ सुझाब पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीलाई बुझाइएको अध्यक्ष सुदाम गौतमले जानकारी दिए ।


वर्तमान पाठ्यक्रममा विषयवस्तु र घोकन्ते शिक्षामा बढी जोड रहेको भन्दै आगामी दिनमा क्षमता, प्रयोगात्मक सिकाइ, समस्या समाधान, आलोचनात्मक सोच र अनुकूलनशीलता केन्द्रमा राख्न आवश्यक रहेको सुझाब दिएको छ ।


संघले कक्षा १ देखि नै कम्प्युटेसनल सोच समावेश गर्न, कक्षा ६–८ मा ब्लक कोडिङ तथा डिजिटल सुरक्षा र कक्षा ९–१२ मा एआई साक्षरता, डेटा नैतिकता तथा प्रम्प्ट इन्जिनियरिङ जस्ता विषय समेट्न प्रस्ताव गरेको छ ।


त्यस्तै, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गर्ने स्टिम मोडेल लागु गर्न तथा प्रत्येक विषयको कम्तीमा ३० प्रतिशत सिकाइलाई परियोजनामा आधारित बनाउन सुझाव दिइएको छ ।


पानले सातामा एक दिनलाई औपचारिक बुक फ्रि डे वा बुकलेस डेका रूपमा विकास गरी सार्वजनिक वक्तृत्व, सञ्चार कला, टोलीकार्य, नेतृत्व, रोबोटिक्स, कला, संगीत, प्राथमिक उपचार, वातावरण संरक्षणलगायतका व्यावहारिक गतिविधिलाई क्रेडिट प्रणालीसँग जोड्नुपर्ने सुझाबमा उल्लेख छ ।


कक्षा ६ देखि सबै विद्यार्थीलाई स्थानीय आवश्यकता अनुकूल कम्तीमा दुईवटा बजारयोग्य व्यावहारिक सीप सिकाउने, माध्यमिक तहमा वित्तीय साक्षरता अनिवार्य गर्ने तथा विद्यालयमै ‘सिक्दै–कमाउँदै’ उद्यमशीलता प्रयोगशाला स्थापना गर्ने प्रस्ताव पनि अवधारणा–पत्रमा छ ।


मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने पानको सुझाब छ । घोकाइमा आधारित परीक्षाको सट्टा क्षमता–आधारित मूल्याङ्कन, स्पष्ट रुब्रिक्स, डिजिटल पोर्टफोलियो र अन्तर–विद्यालय पोर्टफोलियो अडिटको व्यवस्था गर्न सुझाव दिएको छ ।


यसैगरी जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् पूर्वतयारीलाई व्यवहारिक सिकाइसँग जोड्दै विद्यालयमा भूकम्प, बाढी, पहिरो र आगलागी जस्ता विपद्का लागि वर्षमा कम्तीमा दुई पटक नमुना अभ्यास सञ्चालन गर्न प्रस्ताव गरेको छ ।


विद्यार्थीको सामाजिक–भावनात्मक विकासका लागि सामाजिक–संवेगात्मक सिकाइ (एसईएल)लाई पाठ्यक्रमको अनिवार्य हिस्सा बनाउन तथा व्यवहारमा आधारित मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने प्यानको धारणा छ । स्थानीय पाठ्यक्रमलाई पुस्तककेन्द्रित नभई स्थानीय भूगोल, सीप, संस्कृति, इतिहास र स्रोतमा आधारित स्थलगत परियोजनामुखी बनाउनुपर्ने संघको प्रस्ताव छ ।


पानले नयाँ पाठ्यक्रम सफल कार्यान्वयनका लागि शिक्षकलाई कम्तीमा ६ महिनाअघि नै प्रयोगात्मक तालिम, प्रधानाध्यापकलाई शैक्षिक नेतृत्वको स्पष्ट भूमिका र विद्यालयमा स्थानीय स्रोतको प्रयोगमार्फत ‘शून्य–लागत रूपान्तरण’ को ढाँचा आवश्यक रहेको जनाएको छ ।


साथै पाठ्यक्रम पुनरावलोकनलाई विषय थपघटमा मात्र सीमित नगरी विद्यार्थीलाई जीवनोपयोगी सीप, स्वावलम्बी सोच र आफ्नै देशमा भविष्य निर्माण गर्न सक्षम बनाउने व्यापक शैक्षिक रूपान्तरणका रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको पानका अध्यक्ष गौतमले बताए ।