काठमाडौँ /१ असोज – नेपाल अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले अहिले हामीले के सिकायौँ ? के सिक्दै छौँ ? भन्ने कुरालाई ख्याल गर्दै जीवन र जगतसँग जोडेर व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताएका छन् ।
उनले विद्यालयमा नैतिक शिक्षाको आवश्यकताका सन्दर्भमा बोल्दै मानिस सामाजिक प्राणी भएकोले पनि नैतिक शिक्षा पाठ्यक्रममा मात्रै राखेर नहुने उल्लेख गर्दै समाजबाटै राम्रो संस्कार सिक्ने हुनाले जागरण र चेतना ल्याउनुपर्ने बताए ।
“विद्यालय भनेको सबै भन्दा पहिला घर नै हो । त्यसपछि मात्रै पढाउने विद्यालय हुन् । त्यसैले नैतिक शिक्षा सबै भन्दा पहिला घरबाट सुरु गर्नुपर्छ” भण्डारीले भने । साथै जीवन र जगतसँग जोडिएका सिपका कुरा र युगले खोजेको विद्यार्थीका रुचीका विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाब छ ।
नैतिक शिक्षा आफैमा बृहत् रहेको र बाढी आएका समयमा मानिसको लासबाट सुन झिक्ने जस्ता कार्य भएको उदाहरण दिँदै त्यस्तो निर्दयी समाज निर्माणमा हामी सबै म, शिक्षक, अभिभावक, समाजका अगुवा लगायत सबै दोषी रहेकोले यस्ता कुरामा आचरण पालना गर्नुपर्नेमा जोड् दिए ।



