विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागी प्रस्ताव आह्वान

काठमाडौं/३१ भदौ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।


नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासलाई राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्दै अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धनमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल अघि बढाएको हो ।


मन्त्रालयको जारी सूचनामा विश्वविद्यालयमा उपलब्ध ज्ञान, अनुसन्धान क्षमता, प्राविधिक जनशक्ति, प्रयोगशाला तथा पूर्वाधारलाई अधिकतम उपयोग गर्दै विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी तथा निजी क्षेत्रलगायत सरोकारवालाबीच सहकार्य र ज्ञान हस्तान्तरणलाई प्रवद्र्धन गरिने उल्लेख छ ।


प्रस्तावित नवप्रवर्तन केन्द्रले विश्वविद्यालयभित्र विकास भएका अनुसन्धान तथा प्रविधिलाई प्रयोगात्मक विकास, प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, स्टार्टअप तथा उद्यमशीलता विकास र बजारसँगको आबद्धतासम्म पु¥याउने अपेक्षा गरिएको जनाईएको छ ।


यसका लागि सम्बन्धित विश्वविद्यालयहरूले आफ्नो विद्यमान अवस्था, क्षमता तथा भविष्यको कार्ययोजनालाई समेटेर नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव तयार गरी २०८३ असोज १० गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ ।